२३,कार्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदान हुनुभन्दा पहिलेको सम्भवतः अन्तिम मत सर्वेक्षणमा डेमोक्रेटिक पार्टीको उमेदवार हिलारी क्लिन्टनको जित्ने सम्भावना ९० प्रतिशत भएको समाचार रोयटर्सले मंगलवार दिएको छ । रोयटर्स/आईपीओएस स्टेटस अफ दी नेसनल प्रोजेक्टको सर्भेक्षण उद्धृत गर्दै दिइएको समाचारअनुसार क्लिन्टन विजयी हुने समाचारसँगै सेयरहरूको भाउ पनि बढेको छ ।
यसअघि केन्द्रीय जाँच ब्युरो (एफबीआई)ले क्लिन्टनका पछिल्ला इमेलहरूबाट कानुनको उल्लंघन भएको नदेखिएको पत्र संसद्मा पठाएको थियो ।
अग्रीम मतदानमा हिस्पानिक समुदाय बहुल क्षेत्रमा देखिएको उत्साहले पनि क्लिन्टन पक्षलाई उत्साही बनाएको छ । सर्वेक्षणमा क्लिन्टनले ३३० निर्वाचक मण्डल (इलेक्टोरल कलेज) को मत हासिल गर्ने पनि प्रक्षेपण गरिएको छ ।
गोरा मतदातालाई रिझाउन अल्पसंख्यक समुदायप्रति आक्रामक बनेका डोनाल्ड ट्रम्पलाई रिपब्लिकन पार्टीको उमेदवारी हासिल गर्न त सजिलै भयो तर राष्ट्रपति निर्वाचनमा त्यही कटाक्ष प्रत्युत्पादक हुने जोखिम बढेको सर्वेक्षणमा देखिएको छ । महिला, अश्वेत, आप्रवासीलगायत अल्पसंख्यक समुदाय क्लिन्टनको समर्थक देखिएको छ । यस समुदायका मतदाताले जति धेरै मतदान गर्छन् क्लिन्टनको जित्ने सम्भावना उति बढी हुन्छ । अमेरिकी समयअनुसार मंगलवार मतदान हुनेछ ।