पाकिस्तानी जनतालाई भेट्न आतुर छु : राष्ट्रपति ट्रम्प

अमेरिका

१६,मंसिर। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको प्रशंसा गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शरीफले राम्रो काम गरिरहेको उल्लेख गर्दै ट्रम्पले भने, ‘सबै क्षेत्रमा कामको परिणाम देखा परिरहेको छ ।’

नवाफ शरीफले ट्रम्पलाई अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएकोमा बुधबार टेलिफोन गरेर बधाइ दिएपछि ट्रम्पले शरीफको प्रशंसा गरेका हुन् ।

डोनाल्ड ट्रम्पले पाकिस्तानका समस्या समाधान गर्न पाकिस्तानले जस्तो भूमिका चाहन्छ, त्यस्तै भूमिका निर्वाह गर्न आफू तयार रहेको प्रधानमन्त्री शरीफलाई बताए ।

अमेरिकी अखबार वासिंटन पोस्टका अनुसार पाकिस्तान प्रेश इन्फर्मेशन ब्यूराले बुधबार विज्ञप्ति प्रकाशित गरी शरीफ र ट्रम्पबीच भएको कुराकानीको विवरण सार्वजनिक गरेको हो ।

‘तपाईका समाधान हुन नसकेका समस्याहरु सुल्झाउनका लागि तपाई जस्तो चाहनुहुन्छ, त्यस्तै भूमिका निर्वाह गर्न म तयार छु,’ ट्रम्पको भनाइ उद्धृत गर्दै सो विज्ञप्तिमा भनिएको छ, ‘यो मेरा लागि सम्मानको कुरा हो र म निजी रुपमा यो जिम्मेवारी वहन गर्न तयार छु । मलाई तपाई जुनसूकै बेला फोन गर्न सक्नुहुन्छ, २० जनवरीमा मैले आफ्नो कार्यभार सम्हाल्नु अघि पनि कुरा गर्न सक्नुहुन्छ ।’

शरीफले ट्रम्पलाई पाकिस्तान भ्रमणको निम्तो पनि गरेका छन् । जवाफमा ट्रम्पले आफू पाकिस्तान आउन उत्सुक रहेको र पाकिस्तानी जनतासँग भेट्न चाहेको बताएका थिए ।

वासिंटन पोस्टले ट्रम्पका प्रतिनिधितर्फबाट भने समाचारको पुष्टि गरेको छैन ।

 

Post Comment