लन्डन (एजेन्सी) । अमेरिकी राष्ट्रपतिमा भर्खरै निर्वाचित डोनाल्ड ट्रम्प खर्बपति व्यपारी पनि हुन् । उनी विशवमै एकदमै विलासी जीवन बाँच्ने मानिसहरुमध्ये एकमा पर्छन । घरमा सुनका सामानदेखि आफ्नो निजी जहाजमा समेत सुन प्रयोग गर्ने ट्रम्पले आफुले बोक्ने मोबाइलमा समेत पुरै सुनको कभर कभर लगाएका छन् । जसको मूल्य २४३७ पाउण्ड (करीब ४ लाख रुपैयाँ नेपाली ) पर्छ । उनले सो मूल्यको मभर आफ्नो क्याभियर फोनको लागि हालेका हुन् ।
यता ट्रम्पको मोबाइल फोनले अमेरिका र यसका पक्षराष्ट्रहरुमा गम्भीर सुरक्षा चिन्ता बढाउने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । ट्रम्पको सामाजिक सञ्जालमा बढ्दो सक्रियता र व्यक्त हुने प्रतिक्रियाले ह्याकरहरुलाई ह्याक गर्न सहयोग पुग्ने र यसले सुरक्षा चिन्ता थपिएको विज्ञहरुको भनाइ छ ।
खास गरी ट्रम्पले अहिले पनि एन्ड्रोइड डिभाइस प्रयोग गरेको र यसलाई ह्याकरहरुले सजिलै ह्याक गर्ने अनुमान गरिएको हो । गुगलले विकास गरेको यो सफ्टवेयर ह्याकरसामु कमजोर रहेको र यसबाट ट्रम्पको सञ्चार, लाइभ क्यामेरा, माइक्रोफोन र लोकेसन फिडहरु सजिलै थाहा पाउन सकिने भएकाले पनि विज्ञहरुले चिन्ता व्यक्त गरेको एजेन्सीहरुले बताएका छन् ।
सामान्य उपाय अवलम्बन गरेरै ह्याकरहरुले ट्रम्पको ट्विटर, म्यासेज ह्याक गर्नसक्नेछन् । यसै कारण राष्ट्रपति बाराक ओबामाको लागि राष्ट्रिय सुरक्षा संस्थाले सुरक्षित फोनको डिजाइन गरेको थियो ।
ओबामालाई व्यक्तिगत प्रयोजनका लागि, सीमित सम्पर्क गर्न भनेर छुट्टै किसिम विशेष फोन दिइएको थियो र अब सोही किसिमको फोन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि पनि दिइने मोबाइल सेक्युरिटी कम्पनी कोडिफाइड सेक्युरिटीका मार्टिन एल्डरसनले बताए ।
सामसुंग ग्यालेक्सी एसफोर जस्तै फोन ओबामालाई दिइएको थियो, जसमा डिफेन्स इन्फरमेसन सिस्टम एजेन्सीको स्टोरबाट सीमित एप्लिकेसनहरु डाउनलोड गर्ने अनुमति थियो । जुन फोनबाट, फोटो खिच्न नमिल्नेमात्र होइन, म्यासेज गर्न र म्युजिक सुन्न समेत सकिँदैन थियो । ओबामाले ब्ल्याकबेरीको सट्टा यस्तो फोन प्रयोग गरेका थिए । तर यता ट्रम्पले भने ह्वाइटहाउस प्रवेश गरे पनि आफ्नो एन्ड्रोइड फोन छोड्ने चाहना नभएको बताएका छन् ।