वैदेशिक मामिलामा अनुभवहीन ट्रम्प।

अन्तर्राष्ट्रिय समाचार अमेरिका

२० मंसिर। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति साइइङ वेनसँग १० मिनेट लामो कुराकानी गरेको बिषयलाई ट्रम्पको वैदेशीक नीति अनुभवको अभाव हुनु मुख्य कारक तत्व भएको चिनियाँ सरकारको मुख्यपात्रले दाबी गरेको छ ।
ब्रिटेनको दि गार्जियनका अनुसार चीनको चाइना डेली पत्रिकाले भनेको छ, “यसले अरु केहि नभएर बैदेशिक मामिलामा ट्रम्पको ट्रान्जिसन टिमको अनुभवहीनता पर्दाफास गरेको छ।” झण्डै चार दशकपछि कुनै पनि अमेरिकी राष्ट्रपतिले ताइवानको नेतासँग गरेको पहिलो कुराकानी पछि धेरैले चीनको निक्कै कडा प्रतिक्रिया आउने अपेक्षा गरेपनि त्यस्तो भने देखिएको छैन।
चीनको विदेश मन्त्रालयले यस बिषयमा अमेरिकासँग आघिकारिक उजुरी दर्ता गरेको बताएको छ । विदेश मन्त्रीले एक साधारण कदम भन्ने संज्ञा दिएका छन्। तर चिनियाँ बिज्ञहरुले भने यो कदमले चाइनिज कम्युनिस्ट पार्टीका नेताहरु असन्तोष तथा हतोत्साहित भएको बताएका छन्।
ट्रम्पले अमेरिकाको चीन नीति विपरित ताइवानका राष्ट्रपतिसँग कुराकानी गरेको बताइएको थियो। यसअघि ट्रम्प र ताइवानका राष्ट्रपतिबीच आर्थिक,राजनीतिक र सुरक्षा लगायतका क्षेत्रमा सहकार्य गर्ने बिषयमा कुराकानी भएको बताइएको थियो । चीनले ताइवानलाई आफ्नो एक छुट्टिएर गएको प्रान्तका रुपमा हेर्ने गरेको छ भने ताइवानले आफूस्वतन्त्र राष्ट्र रहेको बताउँदै आएको छ ।
ट्रम्पको हरकतले चीन र अमेरिका बीचको सम्बन्धमा असर पर्न सक्ने बताइएको छ। वेन गत जनवरीमा ताइवानको पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन्।

Post Comment