पौष १। अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोपमा रसियाविरुद्ध कारबाहि गर्ने प्रतिबद्धता देखाएलेको बीबीसीले जनाएको छ। अमेरिकाको एनपीआर रेडियो स्टेसनसँग कुरा गर्दै उनले यस्तो बताउका हुन । तर रसियाले भने यो आरोपलाई कडा रुपमा अस्वीकार गरेको छ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पनि यसलाई हास्यास्पद र राजनीति प्रेरित भनेका छन्। तर,अमेरिकि गुप्तचर संस्थाले भने अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक पार्टी तथा हिलारी क्लिन्टनको सहयोगीको ईमेल ह्याक गरी निर्वाचलाई प्रभावित पार्ने कार्यमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको समेत प्रत्यक्ष संलग्नता रहेको स्पष्ट आधारसहितको प्रमाण पाइएको बताएको छ।
बिहिबार ह्वाइट हाउसका प्रवक्ताले अमेरिकी साइबर आक्रमणमा पुटिनको प्रत्यक्ष संलग्नता भएको बताएका थिए । त्यसको केही घण्टापछि ओबामाले विदेशी देशले आफ्नो चुनाव प्रभावित गर्न खोज्दा कारबाही नगर्ने भन्ने कुरा नहुने बताएका थिए। तर,यो बिषयमा केही कुरा सार्वजनिक हुन सक्ने र केही नहुन सक्ने बताएका थिए।
अमेरिकाले रसियाविरुद्ध कस्तो कारबाही गर्न चाहेको भन्ने विषयमा केही बताइएको छैन। ओबामा राष्ट्रपतिको रुपमा जनवरी २० सम्ममात्र रहने छन्। अमेरिकाका निर्वाचनको महत्वपूण बिन्दुमा उक्त ईमेल सार्वजनिक भइदिँदा डेमोक्रेटिक पार्टीलाई बेफाइदा भएको थियो। अमेरिकी गुप्तचर संस्था सीआइएले रसियाले ईमेल ह्याक गरेर ट्रम्पको पक्षमा चुनाव परिणाम लैजान खोजेको निष्कर्ष निकालेको छ। तर, ट्रम्पले मानगढन्ते आरोप भएको बताएका छन्। ट्रम्पले लामो समयदेखि पुटिनको तारिफ गर्दै आएका छन् र उनको विदेशमन्त्रीको रोजाइमा परेका रेक्स टिलेरसनले पनि लामो समयदेखि रसियाका राष्ट्रपति पुटिनसँग नजिक रहेर काम गरेका व्यक्ति भएकाले टिलेरसनलाई उनको विदेशमन्त्री बनाउने निर्णयप्रति प्रश्न उठेको बताइएको छ।