रुसी कूटनीतिज्ञहरुलाई अमेरिका छाड्न ७२ घण्टाको समय,कडा जवाफ दिने रुसको चेतावनी !

अमेरिका

१५,पुस । रुसले कम्युटरमा अनधिकृत प्रवेश अर्थात् ह्याकिङ्मार्फत अमेरिकी राष्ट्रपतीय चुनाव प्रभावित पारेको भन्ने आरोपसंग जोडिएको एउटा कदममा राष्ट्रपति बराक ओबामाले ३५ जना रुसी कूटनीतिज्ञलाई निष्कासन गर्न आदेश दिएका छन् ।

रुसी कूटनीतिज्ञहरुलाई अमेरिका छाड्न ७२ घण्टाको समय दिइएको छ । निष्कासनमा परेका रुसी कूटनीतिज्ञहरु वासिङ्टन डीसीस्थित दूतावास र सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावासका कमर्चारीहरु छन् ।

गुप्तचरी सूचना संकलनका लागि रुसले अमेरिकामा प्रयोग गर्दै आएको दुई वटा कम्पाउण्ड पनि बन्द गर्ने निर्णय ओबामाले गरेका छन् ।

तर मस्कोले ती आरोपको खण्डन गरेको छ । रुसले पछिल्लो अमेरिकी कदमको कडा जवाफ दिने चेतावनी दिएको छ ।

यता रुसले अमेरिकी अधिकारीहरुलाई सताइरहेको भन्दै ओबामाले थप कडा कदमहरु अमेरिकाले चाल्नसक्ने चेतावनी दिए ।

बीबीसीका अनुसार राष्ट्रपति ओबामाले डेमोक्रयाटिक पार्टीका इमेलहरुको ह्याकिङ दुर्भावनापूर्ण रहेको बताए । र, त्यो उच्च रुसी सरकारी तहबाटमात्रै निर्देशित हुन सक्ने उनको भनाइ थियो । उनले मस्कोका कदमबाट सबै अमेरिकी चिन्तित हुनुपर्ने बताए ।

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले भने ह्याकिङ्का दावीहरुलाई निरन्तर रुपमा कम महत्व दिदैं आएका छन् । तर अहिले उनले त्यसबारे अमेरिकी गुप्तचर अधिकारीहरुसंग छलफल गर्ने बताएका छन् ।

 

Post Comment