यसपालीको सिकागोको भ्यालेन्टाइन डे लाइ नेपालका चर्चित युवा पप गायक निमा रुम्बाले संगीतमय बनाउने भएका छन ।
सिकागोका केहि जागरुक युवाहरुले मनोरंजनालाई ब्यबसायिक रुपमा पस्कने निर्णय गरे पछि सिकागो क्षेत्रमा प्रस्तुत गर्न लागिएको यो दोश्रो सांगीतिक कार्यक्रम हो । सिकागोमा लामो समय देखि देखि मनोरंजन जगतका बिबिध कार्यक्रममा संलग्न हुदै आउनु भएका सुरज घिमिरे, मोहन पौडेल, बिबेक बर्मा र किरण व्यंजनकारको समुहले मनोरंजनलाई ब्यबसायिक रुपमा अघि बढाउने उद्धेश्यले ‘तरंग’ नामक संस्थाको स्थापना गरेको छ ।
परम्परागत भन्दा पृथक किसिमको ब्यबसायको संचालन आफैमा चुनौती पुर्ण भए पनि अमेरिकाको ब्यस्त जीवन शैलीमा कहिले काही लिइने गुणस्तरीय मनोरन्जनले मानसिक तनाब कम गर्न सहयोग गर्ने कुरा तरंगका अध्यक्ष सुरज घिमिरे बताउनु हुन्छ । यसका साथै सिकागोमा उल्लेख्य संख्यामा संगीत प्रेमीहरु रहेको तथ्य यस भन्दा अघि बिभिन्न समयमा भएका सांगीतिक कार्यक्रमहरुमा देखिएको उपस्थित संख्याले प्रमाणित गर्ने कुरा बताउदै भ्यालेन्टाइन डे को अबसरमा आयोजना गर्न लागिएको निमा रुम्बाको सांगीतिक कार्यक्रममा सिकागो र यसका छिमेकी शहरहरुबाट समेत सबै उमेर समुहका दर्शकहरु नेपालका चर्चित युवा गायकको प्रस्तुतिको मनोरंजन लिन आउने बलियो सम्भावना भएको कुरा अध्यक्ष घिमिरेले बताउनु भयो ।
सो कार्यक्रम सिकागोको अत्यन्त आकर्षक लोगन स्क्वायर अडिटोरियममा आयोजना गर्न लागिएको छ ।
तरंगले आफ्नो उद्घाटन कार्यक्रममा गत महिना प्रस्तुत गरेको मुक्ति एण्ड रिभाइबल ब्याण्ड को कन्सर्ट अत्यन्त सफल भएको थियो। तरंगको कार्यक्रम प्रस्तुतिको शैलीलाई सिकागो बासिहरुले प्रशंसा गरेका छन् ।