अमेरिका। अमेरिकामा सात मुस्लिम बाहुल्यता भएको देशका नागरिक र शरणार्थीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने डोनल्ड ट्रम्पको आदेशमाथि संघीय अपिल कोर्टले पनि झट्का दिएको छ । यसबाट भड्किएका ट्रम्पले न्यायाधिसहरुलाई नै अदालतमा भेट्ने कुरा गरेका छन् ।
ट्रम्प प्रशासनको तर्फबाट अदालतमा याचिका दायर गरेर आप्रवासी प्रतिबन्धको निर्णयमा तल्लो अदालतले लगाएको रोक चाँडै नै हटाउने माग गरेको थियो । उनको याचिकामाथि तीन न्यायाधिसको एक प्यानलले सुनुवाई गर्यो र तीनैजनाले डोनल्ड ट्रम्पको आदेशलाई असंवैधानिक भनेका छन् ।
न्यायाधिसको यो निर्णयले भड्किएका ट्रम्पले ट्वीट गरेर आफ्नो रोष व्यक्त गर्दै न्यायाधिसलाई अदालतमा भेट्ने बताएका छन् । ट्रम्पले ट्वीट गरे, ‘तपाईंलाई अदालतमा हेर्नेछु । हाम्रो देशको सुरक्षा दाउमा छ ।’
ट्रम्पको यो ट्वीटले स्पष्ट बताउँछ कि यो विषयमा उनी पछि हट्न तयार छैनन र अब आदेश बहालीका लागि सर्वोच्च अदालतलाई गुहार्नेछन् । यद्यपी, अमेरिकी राष्ट्रपतिले सर्वोच्च अदालतबाट पनि सहयोग पाउने आशा कम छ ।
अदालतबाट पाइरहेको निराशाबिच कानूनी जानकारका अनुसार ट्रम्पलाई यसका लागि संसदको सहारा लिनुपर्छ । उनीहरुले अमेरिकी कांग्रेसको मंजुरीसहित बिल लिनुपर्छ । त्यसपछि संवैधानिक रुपमा यसलाई चुनौती दिन सकिन्नँ ।
ट्रम्पले गत जनवरी २७ तारिखमा इरान, इराक, लिबिया, सोमालिया, सूडान, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएका थिए । यो निर्णयले संसारभरी विरोध भइरहेको थियो । अमेरिकाको थुप्रै शहर र हवाई अड्डामा मानिसहरुले ट्रम्पको यो निर्णयमाथि विरोध गरिरहेका छन् ।