अमेरिका । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका झण्डै सबा करोडको संरचना तहसनहस पार्ने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको जावरी २५ को कार्यकारी आदेश कार्यान्वयनका क्रममा यो साता अमेरिकाका विभिन्न राज्यहरुबाट सयौं कागजपत्रबिहिनहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।
अपराधीहरुलाई निशानामा राखेर घरहरु र कामगर्ने स्थानहरुमा छापा मारिएपनि आपराधिक रेकर्ड नभएका कैयन कागजपत्रबिहिनहरुलाई पनि नियन्त्रणमा लिइएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।
असाध्यै सानातिना अपराध गरेका वा आपराधिक रेकर्ड नभएकाहरुलाई पनि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले निशाना बनाएपछि अमेरिकामा रहेका कागजपत्रबिहिनहरुमा त्रास फैलिएको छ । राष्ट्रपति ट्रम्पले कम्तीमा ३० लाखलाई देशनिकाला गर्ने लक्ष्य बनाएका छन् ।
अध्यागमन अधिकारीहरुले एटलान्टा, शिकागो, न्युयोर्क, लस एन्जलस, नर्थ क्यारोलिना र साउथ क्यारोलिनामा विभिन्न स्थानमा छापा मारेर सयौ कागजपत्रबिहिनहरुलाई नियन्त्रणमा लिइएको पुष्टी गरेका छन् । तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी प्रवक्ताले अध्यागमनको छापालाई नियमति कामकारवाही बताएकी छिन् । सोमबारदेखि शुक्रबारसम्म नियन्त्रणमा लिइएका सयौं कागजपत्रबिहिनहरुमा ल्याटिन अमेरिकाका व्यक्ति अधिकांश रहेको उनको भनाई छ ।
फ्लोरिडा, टेक्सास, कन्सास र नर्थ भर्जिनियामा दुईदिनदेखि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले कागजपत्रबिहिनहरुलाई नियन्त्रणमा लिन गतिविधि तीब्र पारेका छ । आइसका एजेण्टहरुले शुक्रबार लस एन्जलस क्षेत्रमा काम गर्न जाँदै गरेका र घरमा बसिरहेका कागजपत्रबिहिनहरुलाई पक्राउ गरेर हिराशतमा राखेको अधिकारवादीहरुले पुष्टी गरेका छन् ।
लस एन्जलस क्षेत्रका फिल्ड डाइरेक्टर डेभिड मरिनले १६० जनालाई नियन्त्रणमा लिइएको र तीमध्ये ७५ प्रतिशत आपराधिक रेकर्ड भएकाहरु रहेको बताएका छन् । अरु सबै अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्नेहरु रहेको उनले बताएकाछन् । लस एन्जलसमा समातिएकाहरुमध्ये ३७ जनालाई शुक्रबार राती नै अमेरिकाबाट देशनिकाला गरिसकिएको आइसका अधिकारी डेभिड मरिनले जनाएका छन् ।