सिरिया माथि अमेरिकाको मिसाईल आक्रमण

सिरिया माथि अमेरिकाको मिसाईल आक्रमण
अमेरिका

अमेरिकाले सिरियाको एयरबेसमा मिसाइल आक्रमण गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी हवाइ सेनाले करिव ६० टोमाहक क्षेप्यास्त्र प्रहार गरेको छ ।

सिरिया सरकारले सयौँ बालबालिकासहित नागरिकको मृत्यु हुने गरी रासायनिक हातहितयार प्रयोग गरी हवाइ आक्रमण गरेपछि जवाफी कारबाही स्वरूप अमेरिकाले आक्रमण गरेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘हामी मानव नरसंहारको रमिते भएर बस्न सक्दैनौं ।’ उनले यसका लागि सिरियाली राष्ट्रपति बशार एल आसद जिम्मेवार रहेको बताए ।

यसैबीच सीएनएनले एक अमेरिकी हवाइ सैनिकलार्इ उदृत गर्दै आक्रमण गरिएको एयरबेसमा रूसीहरू भएको जनाएको छ । रूसीहरू त्यहाँ के गरिरहेका थिए भन्ने जानकारी नभए पनि आक्रमणको बेला धावनमार्गमा उनीहरू रहेको बताइएको छ ।

यसअघि सयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीले राष्ट्र संघमा सिरिया सरकारले रासायनिक हातहतियार प्रयोग गरेर नरसंहार गरेको बताएकी थिइन् ।

उनले बालबालिकाको तस्बिर देखाउँदै भनेकी थिइन्, सिरिया सरकारले रासायनिक हातहतियार प्रयोग गरेर नरसंहार गरेको छ । अरुले सिरियामाथि कारवाही गर्दैनन् भने पनि अमेरिकाले चुप लागेर बस्न सक्दैन । यो मानवताविरूद्धको अपराध हो ।

अमेरिकी आक्रमणमा के कति नोक्सान भयो ? क्षतिको विवरण आउन बाँकी नै छ । रासायनिक हातहतियार प्रयोग गर्ने सिरियाली युद्धविमानहरू र धावनमार्गमा निक्कै ठूलो क्षति भएको अनुमान गरिएको छ ।

Post Comment