शान्तिपूर्ण समाधान नै खोज्ने अमेरिकी विदेशमन्त्रीको भनाई

शान्तिपूर्ण समाधान नै खोज्ने अमेरिकी विदेशमन्त्रीको भनाई
अमेरिका

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकाले कोरियाली प्रायद्वीपमा उत्पन्न उत्तेजक एवं हिंस्रक व्यवहारको पनि शान्ति समाधान खोज्ने धारणा राखेका छन् ।

उनले पछिल्ला समयमा उत्तर कोरियाले उक्त क्षेत्रमा गैरजिम्मेवारपूर्ण रुपमा हिंस्रक व्यवहार देखाइरहेको बताउँदै तर पनि अमेरिकाले भने त्यसको समाधान शान्तिपूर्ण रुपमा नै के कसरी गर्न सकिन्छ भनेर हेरिरहेको धारणा राखेका थिए ।

अमेरिकी फक्स टेलिभिजनलाई आइतबार दिएको अन्तरवार्तामा उनले सो कुरा बताएका हुन् । उनले उक्त क्षेत्रमा शान्तिपूर्ण बाहेकको अर्काे विकल्पले कसैलाई पनि फाइदा नगर्ने बताए ।

उक्त अन्तरवार्तामा उनले भने, उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा जारी राखेको क्रियाकलाप उत्तेजकबाहेक अरु केही होइन, यसले खासगरी अमेरिकालाई नै बढी तारो बनाएको देखिन्छ ।

तर उसले अमेरिकालाई तारो बनाएको भए पनि हामीले भने यसको समाधानको विकल्प शान्ति प्रक्रिया नै देखेका छौँ, उनले भने ।

विदेशमन्त्री टिलर्सनल भने, हामी यसको समाधानमा लागिरहेका छौँ । हामीले चीनलाई पनि भनेका छौँ र उसका अरु सहयोगी देशलाई पनि हाम्रो अनुरोध यो छ कि जसरी सकिन्छ शान्तिपूर्ण समाधानको टेबुलमा नै बसेर गर्नुपर्छ भनेर हामी लागिपरेका छौँ ।

उत्तर कोरियाले पछिल्लो समयमा गरेको एक क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाको यो प्रतिक्रिया आएको छ ।

अमेरिकाको पछिल्लो प्रतिक्रियाअनुसार यो पछिल्लो क्षेप्यास्त्र परीक्षणले कुनै खतरा भने दिन सक्दैन । अमेरिकाले गरेको अध्ययनअनुसार सो क्षेप्यास्त्र गत शनिबार बिहान गरिएको थियो ।

तर यस विषयमा उत्तर कोरियाले पनि कुनै प्रतिक्रिया दिएको छैन । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र परीक्षण गरेको घटनाको भने पुष्टी गरेको छ ।

यसरी बारम्बार गर्ने गरेका यी परीक्षणले संयुक्त राष्ट्रसंघको शान्ति तथा सुरक्षासम्बन्धी मापदण्डको उल्लंघन भइरहेको धारणा उनले राखे ।

यसैबीच केही दिनअघिमात्र अमेरिका र दक्षिण कोरियाले दक्षिण कोरियाली राजधानी सोलमा संयुक्त सैन्य अभ्यास गरेका थिए ।

यस सैन्य अभ्यास यी दुई देशको नियमित प्रक्रिया हो भनिए पनि उत्तर कोरियाले भने यसलाई आफूविरुद्धको उत्तेजना हो भनेको छ ।

त्यसको पनि अमेरिकी विदेशमन्त्रीले विरोध गरे । उनले सो सैनिक अभ्यास अमेरिका र दक्षिण कोरियाको विगत देखिकै एक नियमित प्रक्रिया हो भने ।

Post Comment