संयुक्त राज्य अमेरिकामा एक नेपालीलाई ७० लाख डलरको चिठ्ठा परेको छ । न्युयोर्कको उडसाइडमा बस्दै आएकी २६ वर्षकी नेपाली युवती यांगी शेर्पाले यति ठूलो रकमको चिठ्ठा जितेको अमेरिकाबाट प्रकाशित हुने नेपाली पत्रिका खसोखासले जनाएको छ ।
यांगीले न्युयोर्कस्थित ज्याक्सनहाइटमा रहेको प्रोन्टो फुडमार्टबाट चिठ्ठा किनेकी थिइन् । प्रोन्टो फुडमार्ट ७४ स्ट्रीट र ब्रोडवेमा रहेको छ । ‘क्यास फर लाइफ’ नामको चिठ्ठाबाट उनले सो रकम जितेकी हुन् । आफूले किनेको टिकटले ७ मिलियन जितेको थाहा पाएपछि घरमा आएर ४÷५ पटकसम्म रुजु गरेको उनले बताइन् ।
यांगीले चिठ्ठा रकम दिने कम्पनीसँग एकमुष्ट रकम लिनेगरी सहमति जनाएकी छन् । जसअनुसार उनले झण्डै ४३ लाख डलर (कर कटाएर) प्राप्त गर्नेछिन् । चिठ्ठामा जितेको रकमबाट परिवारका लागि नयाँ घर किन्ने योजना रहेको उनले जानकारी दिइन् ।