राष्ट्रपति ट्रम्पको फ्लोरिडामा ठूलो संकट आइपरेको घोषणा ,थप आपतकालीन सहायता निकासा

राष्ट्रपति ट्रम्पको फ्लोरिडामा ठूलो संकट आइपरेको घोषणा ,थप आपतकालीन सहायता निकासा
अमेरिका

संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा प्रवेश गरेको समुद्री आँधी एर्मा उत्तरतर्फ बढ्दै गर्दा त्यसले तटीय क्षेत्रमा व्यापक बाढी तथा हावाहुरी निम्त्याएको छ।

शक्तिशाली आँधीका कारण २० लाखभन्दा बढी घर तथा कलकारखानामा बिजुली आपूर्ति बन्द भएको छ।

आँधीको गति कमजोर भएपनि अधिकारीहरुले हावाहुरी घातक हुनसक्ने चेतावनी दिएका छन्।

आँधीका कारण अहिलेसम्म फ्लोरिडामा कम्तीमा तीनजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

लुटपाट हुनसक्ने भन्दै थुप्रै शहरहरुमा रातभर निषेधाज्ञा जारी गरिएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडामा ठूलो संकट आइपरेको घोषणालाई अनुमोदन गर्दै संघ सरकारबाट थप आपतकालीन सहायता निकासा गरेका छन्।

एर्मा आँधीलाई ठूलो राक्षसको संज्ञा दिंदै ट्रम्पले आँधीका बेला सहयोगमा जुटिरहेका संघीय निकायहरुको प्रशंसा गरेका छन् र आफू छिट्टै प्रभावित राज्य जाने बताएका छन्।

उनले भने, “हामी यस अर्थमा थोरै भाग्यमानी छौँ कि आँधी पश्चिमतर्फ गयो र सोचे जस्तो विनाशकारी भएन तर आगामी पाँच अथवा ६ घण्टासम्म यो रहिरहनेछ।”

यसअघि एर्माले क्यारिबियन क्षेत्रमा व्यापक विध्वंस निम्त्याइसकेको छ।

सो आँधीका कारण क्यारिबियन क्षेत्रमा २८ जनाको मृत्यु भएको थियो।

एर्माले पुर्‍याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै फ्लोरिडामा ६३ लाख मानिसलाई सुरक्षित स्थानमा सर्न भनिएको छ।

मायामीका सडकहरुमा दुई फिटसम्म पानी बगिरहेको छ जहाँको एउटा प्रमुख सडक नदी जस्तै देखिएको छ।

तीव्र गतिको हावाले दुईवटा क्रेन ढलेको अधिकारीहरु बताएका छन्।

Post Comment