नेपालको राष्ट्रिय झण्डा र बुद्धको सही सम्मान अमेरिकामा:- युवा परिषद उपाध्यक्ष माधव ढुंगेल

नेपालको राष्ट्रिय झण्डा र बुद्धको सही सम्मान अमेरिकामा:- युवा परिषद उपाध्यक्ष माधव ढुंगेल
अमेरिका
राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले नेपालको राष्ट्रिय झण्डा र बुद्धको सही सम्मान अमेरिकामा भइरहेको बताएका छन् ।
अमेरिकामा हरेक नेपालीले आफ्नो निवासमा नेपाली झण्डा र बुद्धको मूर्तिलाई सम्मानपूर्वक राख्ने गरेको आफुले देखेको ढुंगेलले बताए । ‘नेपालको राष्ट्रिय झण्डा र बुद्धलाई यहाँ रहेका प्राय सबै नेपालीले असाध्यै माया गरेर आफ्नो घर र गाडीमा सजाएर राखेको मैले देखे,’ ढुंगेलले भने–‘बरु हामी नेपालमा बस्नेले राष्ट्रिय झण्डालाई त्यति सम्मान गर्न सकेको पाइदैन ।’
युवा तथा मानव अधिकार संबन्धि एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अमेरिका आएका ढुंगेल केही दिनयता टेक्ससमा छन् । उनले आइतबार साँझ प्रवासी नेपाली मञ्चले आयोजना गरेको स्वागत तथा अन्तरकृया कार्यक्रममा अमेरिकामा रहेका नेपालीहरुले आर्जन गरेको बौद्धिकतलाई नेपालमा उपयोग गर्न आग्रह गरे ।
‘जो नेपालबाट बाहिर गएको हुँदैन, उसलाई विदेशमा बस्ने नेपालीहरु पनि मन पर्दैन,’ ढुंगेलले भने–‘जो विदेश गइरहन्छ, उसलाई विदेशमा रहेका नेपालीहरुको क्षमताको जानकारी हुन्छ ।’ एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियूका पूर्ब अध्यक्ष समेत रहेका ढुंगेलले नेपालै बसिरहेको भएपनि अथाह संभावना र क्षमता भएका व्यक्तिहरुलाई आफूले अमेरिकामा भेटेको उल्लेख गरे ।
उनले आफू युवा परिषदको उपाध्यक्ष नियुक्त भएदेखि गरेको कार्यहरुको चर्चा गरेका थिए । नेपालका युवाहरुमा सबैभन्दा ठूलो समस्या बेरोजगारीको रहेको र अधिकांश फोनहरु जागिर माग्दै आउने गरेको अनुभव पनि उनले सुनाए ।
पब्लिक–प्राइभेट पार्टनरशीपमा उद्योग खोल्ने र त्यसमा युवाहरुलाई समेत शेयर लगानी गरेर रोजगारी समेत दिनेगरि प्रस्ताव अघि बढाएको ढुगेलले योजना सुनाए ।
क्षमताबिहिन नेतृत्व र भ्रष्ट कर्मचारीतन्त्रले गर्दा मुलुक अघि बढ्न नसकेको उल्लेख गर्दै उनले सरकारको बजेटमध्य साधारण खर्च शतप्रतिशत सकिने तर विकास बजेट भने १५/२० प्रतिशतमात्र खर्च हुनुले पनि कार्यान्वयनतन्त्रमा ठूलो समस्या रहेको बताए ।
पूर्बमन्त्री लालबाबु पण्डितले बोलेका कुराहरुलाई लिएर प्रवासी समुदायमा ‘कन्फ्यूज’ रहेको समेत उनले बताए । ‘लालबाबुजीले नेपालको सरकारी तथा संस्थानको जागिर पनि नछाड्ने र ग्रीनकार्ड पनि लिएर बसिरहने व्यक्तिहरुका सन्दर्भमा प्रस्तुत व्यक्त गर्नुभएको कुरालाई लिएर अफवाह फैलाइएको छ,’ उनले भने–‘विदेशमा बस्ने सबै नेपालीका सन्दर्भमा उहाँले भन्नुभएको होइन ।’
प्रवासी नेपाली मञ्च टेक्सस च्याप्टरले आयोजना गरेको कार्यक्रममा मञ्चका स्थानीय नेताहरुले अमेरिकामा नेपालीहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए । मञ्चका राज्य समितिमा अध्यक्ष मणि भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष यमुना भट्टराई, भीम कार्की, कमल ओझा, जनक राना लगायतले मन्तव्य राखेका थिए ।  तीन साता लामो भ्रमण पुरा गरेर ढुंगेल बुधबार नेपाल फर्कदैछन् ।

Post Comment