अमेरिकाले नेपाललाई ५० करोड डलर सहयोग प्रदान गर्ने,वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदै

अमेरिकाले नेपाललाई ५० करोड डलर सहयोग प्रदान गर्ने,वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदै
अमेरिका

अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलर (झण्डै ५० अर्ब रुपैयाँ बराबरको) रकमसम्बन्धी सम्झौतामा बिहीबार अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ ।

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दैहुनुहुन्छ ।

यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारले १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग हुनेछ । यो रकममार्फत लगानी गरेर नेपालको सडक सुधार र विद्युत विकासका लागि एक एकीकृत योजना बनाइनेछ ।

अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले भन्नुभयो– नेपालको दिगो विकासको लागि यो महत्वपूर्ण सम्झौता हो । यसले नेपालको दिगो विकासमा टेवा पुग्ने मलाई विश्वास छ ।

अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एसियाली क्षेत्रको एक मात्र देश हो । एमसिसी नेपाल कम्प्याक्ट नाम दिइएको उक्त सम्झौता अन्तर्गत प्राप्त गर्ने रकमले नेपालको गरिबी न्यूनीकरणका लागि र महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

नेपालको विद्युत सेवामा सुधार र सडकको विस्तारको लागि यो रकम खर्च गरिने भएकाले जनताको जीवनस्तरमाथि उकास्न र देशको दिगो विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

Post Comment