अमेरिकाले आउने वर्षका लागि शरणार्थीको संख्यामा भारती कम गर्ने घोषणा गरेको छ । ह्वाईट हाउसका वरिष्ठ सरकारी अधिकारीले बुधवार गरेको नयाँ घोषणामा आउने वर्ष ४५ हजार भन्दा बढीलाई अमेरिकामा शरण नदिईने उल्लेख छ । यो सन् २०१६ को तुलनामा आधा भन्दापनि कम हो ।
यसले अमेरिका आउने प्रतीक्षामा रहेका नेपालीमा बस्ने भुटानी र अमेरिका आएर शरण माग गर्ने नेपालीलाई समेत असर पर्ने छ । ३ वर्ष यता अमेरिकामा शरण माग्ने नेपालीले लामो समय पखर्नु परेको छ । नेपालीलाई शरण पाउन दिएको निवेदन स्वीकृत हुनपनि कठिन हुदैं आएको छ ।
घोषणामा कुन क्षेत्रबाट कतिलाई शरण दिने भन्ने पनि कोटा तय गरिएको छ । यस अनुसार पूर्व नजिक दक्षिण एशियावाट जम्मा १७ हजार ५ सयले मात्र अमेरिकामा शरण पाउने छन् । यसमा प्राय मध्येपुर्वका देश पनि पर्छन । पूर्वी एसियाका लागि ५ हजार, युरोपका लागि २ हजार, ल्याटिन अमेरिका र क्योवियन क्षेत्रका लागि १ हजार ५ सय र अफ्रिकाका लागि १९ हजार छु्ट्याईएको छ । यस अघि यसरी कोटा तय गरिएको थिएन ।
मुख्य रुपवमा अमेरिकी जनताको सुरक्षाको दृष्टिले शरणार्थी सङ्ख्या कटौती गरिएको ती सरकारी अधिकारीले बताए । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि उनले कार्यकारी आदेश जारी गर्दै ६ महिनाका लागि नयाँ शरणार्थीलाई प्रवेश दिने कार्यक्रम बन्द गरेका थिए ।
यस अघिका राष्ट्रपति बाराक ओबामाले १ लाख १० हजारलाई अमेरिका शरण दिने गरी सङ्ख्या निर्धारण गरेका थिए । यसलाई वर्तमान ह्वाइट हाउस प्रशासनले कम गर्न लागेको हो । अहिले निर्धारण गरिएको शरणार्थी सङ्ख्या १९८० यता सबैभन्दा कम हो । अमेरिकाले सन् १९७५ यता ३० लाखलाई अमेरिकामा शरणार्थीलाई शरण दिएको छ ।
ट्रम्प प्रशासनको यो निर्णय प्रति मानवअधिकारवादी संख्था लगायत अमेरिकाका राजनीतिकज्ञहरुले विरोध गरेका छन् । सिनेटर डायाना फाइन्स्टाइनले ४५ हजारलाई मात्र शरण दिने भनेर सङ्ख्या उल्लेख गर्नु निकै अपर्याप्त भएको र यसले विश्वमा देखिएको मानवीय सङ्कटलाई सम्बोधन गर्न नसक्ने भन्दै यो निर्णयको आलोचना गरेकी छिन् ।
अमेरिकाले केही साता यता आप्रावासी प्रति अनुदार रवैया लिदैं आएको छ । यसै साता अमेरिकामा बस्दै आएका आप्रावासीको समाजिक सञ्जाल निगरानी गर्ने समाचार आएको थियो । नयाँ कानुन अनुसार डिपाटर्मेण्ट अफ होमल्याण्ड सेक्यूरिटी, अध्यागमन विभाग र अन्य सुरक्षा निकायले अमेरिकीमा बस्ने आप्रावासीको सामाजिक सञ्जाल फेसबुक, टुविटर लगायत अनुगमन गर्ने भएको हो ।
अमेरिका प्रवेशका लागि भिसा दिदां पनि समाजिक सञ्जालको गतिविधि निगरानी गरिदैं आएको छ । यस्तै गत साता ट्रम्प प्रशासनले थप देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
यात्रा प्रतिबन्ध लागेका देशमा चाद, इरान, लिविया, नर्थकोरिया, सोमालिया, सिरिया, भेनुजवेयला र यमन छन् ।