अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ताले निष्कर्ष नपाएपछि ‘अब एउटै चिजले मात्र उत्तर कोरियामाथि काम गर्न सक्छ’ भन्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘राष्ट्रपति र उनको सरकार २५ वर्षदेखि उत्तर कोरियासँग कुरा गरिरहेको छ तर यसको नतिजा निस्केको छैन ।’
यद्यपी, ट्रम्पले उत्तर कोरियामाथि काम गर्ने त्यो चीज के हो भनी बताएका छैनन् ।
अमेरिका र उत्तर कोरियाबिच शीतयुद्ध चलिरहेको छ । अमेरिका उत्तर कोरियाले आफ्नो मिसाइल कार्यक्रम रोकोस् भन्ने चाहन्छ ।
यता उत्तर कोरियाले लामो दुरीको मिसाइलमा लगाउन मिल्ने सानो परमाणु हतियार विकसित गर्न आफूहरु सक्षम भएको दाबी गर्दै आएको छ ।
यसअघि राष्ट्रपति ट्रम्पले यदि राष्ट्रिय हित र क्षेत्रमा सहयोगीको रक्षाका लागि अमेरिका जाग्नु परे उत्तर कोरियालाई बर्बाद गरिदिने धम्की दिएका छन् ।
वासिङ्टनमा बीबीसी संवाददाता लौरा बिकरका अनुसार शनिबार गरिएको उक्त ट्वीट अमेरिकी नेताको सांकेतिक घोषणामध्यको एक हो ।
पछिल्लो हप्ता अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियासँगलाई सिधा वार्ता गर्न कोसिस गरिरहेको संकेत पाइएको थियो ।
यसमा राष्ट्रपति ट्रम्पले ट्वीट गरेका थिए, ‘आफ्नो ऊर्जा बचाएर राख रेक्स, हामीले जे गर्नुपर्छ त्यो पक्कै गर्नेर्छौं ।’
शनिबार राष्ट्रपति ट्रम्पले आफ्नो र विदेशमन्त्रीबिचको सम्बन्ध सुमधुर भएको बताएका थिए । यद्यपी, ट्रम्पले यो पनि भनेका थिए कि टिलरसन कडा पनि हुनसक्छन् ।
यसअघि टिलरसनले आफू र राष्ट्रपतिबिच मतभेद भएको रिपोर्टलाई खण्डन गरेका थिए ।
राष्ट्रपति ट्रम्पको उत्तर कोरियामाथिको यो ताजा टिप्पणी धम्कीमात्र हुनसक्छ । तर बीबीसी संवाददाताका अनुसार उत्तर कोरियाले यसलाई खतरा मान्न सक्छ ।
सेप्टेम्बरमा नै उत्तर कोरियाले अन्तर्राष्ट्रिय आलोचनाका बाबजूद आफ्नो छैठौं परमाणु परिक्षण गरेको थियो र प्रशान्त महासागरमा अर्को एक परिक्षण गर्ने घोषणा पनि गरेको थियो ।
सेप्टेम्बरमा नै संयुक्त राष्ट्रमा दिइएको आफ्नो भाषणमा ट्रम्पले उत्तर कोरियालाई पूर्ण रुपमा बर्बाद गर्ने धम्की दिएका थिए । ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उन आत्मघाती मिसनमा भएको बताएका थिए ।
यसको जवाफमा किमले भनेका थिए, ‘मानसिक रुपले विक्षिप्त आगोसँग खेल्न रुची राख्ने अमेरिकी बुढोलाई पक्कै पनि वशमा पार्नेछु ।’