हस्लर पत्रिकाका प्रकाशक ल्यारी फ्लिन्टले आइतबार द वासिङटन पोष्टमा प्रकाशित गरेको विज्ञापनको यतिबेला ठूलो चर्चा भइरहेको छ ।
एक पेज भरी रहेको उक्त विज्ञापनमा कुनै चित्र वा फोटो छैन । मात्र ठूला अक्षरमा लेखिएको छ :
‘डोनाल्ड जे ट्रम्पविरुद्ध महाभियोग लगाउने र उनलाई हटाउन सक्ने सूचना छ भने १ करोड डलर दिइनेछ’
पोर्नोग्राफिक पत्रिकाका प्रकाशक रहेका फ्लिन्टले अमेरिकी राष्ट्रपतिलाई हटाउनुपर्ने विभिन्न कारणहरु प्रस्तुत गरेका छन् । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति ध्वस्त बनाएको, सयौँ झुठ बोलेको, नातावादलाई बढावा दिएको र कार्यालयमा अयोग्य व्यक्ति नियुक्त गरिएको लगायत रहेका छन् ।
त्यही भएर फ्लिन्टले ट्रम्पविरुद्ध सूचना खोजिरहेको बताएका छन् । ट्रम्पले लुकाएको कर वा लगानीबारेको सूचनाले ट्रम्पविरुद्ध महाभियोग दर्ता गराउन सकिने उनको बुझाई छ ।
विज्ञापनको तल्लो भागमा एउटा टोल फ्रि नम्बर, इमेल र भरपर्दो सूचना दिए १ करोड डलर दिने प्रतिबद्धता जनाइएको छ ।
यसरी कुनै राजनीतिक नेतृत्वविरुद्ध पैसाको अफर गरेको फ्लिन्टले पहिलो पटक भने होइन । सन् २००७ मा कङ्ग्रेस वा सरकारी अधिकारीसँग अनैतिक सम्बन्ध भए जानकारी गराउन भन्दै १० लाख डलरको अफर गरेका थिए ।
सन् १९९८ मा पनि रिपब्लिकन बब लिभिङस्टोनविरुद्ध उनले यस्तै अफर सार्वजनिक गरेका थिए ।
सन् २०१२ मा पनि मिट रोम्नीविरुद्ध यस्तै सूचना जारी गरेका थिए ।