अमेरिकी पूर्ब राष्ट्रपतिले भने:-“म उत्तर कोरिया जान्छु,मलाई किम जोङ खतरनाक लाग्छन्”

अमेरिकी पूर्ब राष्ट्रपतिले भने:-“म उत्तर कोरिया जान्छु,मलाई किम जोङ खतरनाक लाग्छन्”
अमेरिका

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले उत्तर कोरिया संकट हल गर्नका लागि कूटनीतिक दूत भएर आफू प्योङयोङ जान तयार रहेको बताएका छन्। उनले यो विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सघाउन पनि आफू तयार रहेको बताएका छन्।

न्युयोर्क टाइम्ससँगको एक अन्तर्वार्तामा कार्टरले ट्रम्पका सुरक्षा सल्लाहकार एच आर म्याक्मास्टरलाई पनि आफूले सहयोग गर्ने वचन दिएको बताएका हुन्। सन् १९७७ देखि ८१ सम्म अमेरिकाका राष्ट्रपति रहेका कार्टर १९९४ मा प्योङयोङ पुगेका थिए। उनले त्यहाँ किम जोङ उनका हजुरबा किम इल सुङसँग भेटेर छलफल पनि गरेका थिए।

९३ वर्षीय कार्टरले किम जोङ इलभन्दा किम जोङ उन आफूलाई खतरनाक लाग्ने पनि उनले बताए । कार्टरले ओबामाको विदेश नीतिको पनि आलोचना गरे। ‘मेरो विचारमा राष्ट्रपति बन्दै गर्दा ओबामाले निकै राम्रा कुरा गरेका थिए। तर पछि उनले त्यो काम गरेनन्,’ उनले भनेका छन्।

उत्तर कोरियासँग वार्ता अस्वीकार गर्नु र यमनमा ड्रोन आक्रमण गर्नु ओबामाको गल्ती भएको पनि उनले बताएका छन्। अन्तर्वार्ताको क्रममा कार्टरले ट्रम्पको बचाउ पनि गरे। ‘मिडिया ट्रम्पप्रति निकै कठोर बनेकोजस्तो मलाई लाग्छ,’ उनले भने, ‘उनीहरु बिना कुनै हिच्किचाहट सोझै ट्रम्प मानसिक रुपमा असन्तुलित व्यक्ति भएको दाबी गर्छन्।’

Post Comment