अमेरिकाका रिपब्लिकन सिनेटर जेफ फ्लेकद्वारा राष्ट्रपति ट्रम्पको चर्को आलोचना

अमेरिकाका रिपब्लिकन सिनेटर जेफ फ्लेकद्वारा राष्ट्रपति ट्रम्पको चर्को आलोचना
अमेरिका

अमेरिकाका रिपब्लिकन सिनेटर जेफ फ्लेकले राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै आफू पुनः निर्वाचनमा नजाने बताएका छन् ।

एरिजोनाका रिपब्लिकन सिनेटर फ्लेकले अमेरिकी सरकारको शीर्ष तहमा लापरबाह, अपमानजनक र अशोभनीय व्यवहार भएका व्यक्ति बस्नु प्रजातन्त्रका लागि खतरापूर्ण भएकोसमेत बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आफूलाई गाली गर्दै विषाक्त भनेकोमा आपत्ति जनाउँदै सिनेटर फ्लेकले कडा अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

यसअघि राष्ट्रपति ट्रम्प अर्का रिपब्लिकन सिनेटर बब कोर्करसँगको झगडामा समेत मुछिएका थिए ।

सिनेटको बैठकमा फ्लेकले आफ्नो निर्णय सुनाउनु अघि एरिजोनाको एउटा पत्रिकासँग वर्तमान रिपब्लिकन पार्टीको वातावरणमा आफ्ना लागि ठाउँ नभएको हुनसक्ने बताएका थिए ।

सिनेटमा उनले राष्ट्रपतिको आलोचना गर्दा आफूलाई खुशी नलागेको तर आलोचना गर्नु आफ्नो दायित्व र विवेक भएको जिकिर गरे ।

उनले प्रजातान्त्रिक मूल्य मान्यताको नियमित र आकस्मिक अबमूल्यन गरिँदा त्यसलाई स्वाभाविक मान्न नहुने बताए ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि फ्लेकलाई निस्कासन गर्न खोज्नुभएको थियो । उनलाई तल्लो तहबाटै बाहिर पार्न लाखौं रकम खर्च गर्ने प्रस्तावसमेत गरेको बताइएको छ ।

Post Comment