उत्तर कोरियाले विश्वभर यो वर्षको सुरुमा साइबर आक्रमण गरेको अमेरिकी अधिकारीले बताएका छन् ।
वानक्राइ मालवेर आक्रमणमा प्रत्यक्ष रुपमा उत्तर कोरिया जिम्मेवार रहेको ह्याइट हाउसका सुरक्षा सल्लाहकार टम बोस्सर्टले बताउनुभएको हो । गएको मेमा भएको साइबर आक्रमणका कारण विश्वका एक सय ५० भन्दा बढी देशका तीन लाख भन्दा बढी कम्प्युटर प्रभावित भएका थिए ।
यसबाट अस्पताल, व्यावसायिक फर्म तथा बैंकमा ठूलो असर परेको थियो । आक्रमणका कारण अर्बौं डलर बराबरको नोक्सानी भएको थियो । अमेरिकाले साइबर आक्रमणमा उत्तर कोरियालाई औपचारिक रुपमा आरोप लगाएको पहिलोपटक हो ।