जाडोले गर्दा स्थिति अत्यन्त खराब भएपछि केही राज्यमा संकटकाल घोषणा गरिएको छ । अमेरिकाको राष्ट्रिय मौसम विभागले पूर्वीय तटवर्ती केही इलाकामा तापक्रम मंगलग्रहको भन्दा कम हुनसक्ने बताएको छ ।
खासमा एक सय ३३ वर्षपछि अमेरिकामा यति धेरै जाडो भएको हो । ‘बम साइक्लोन’ र ‘आर्कटिक ब्लास्ट’ का कारण यस्तो स्थिति आएको बताइएको छ । साइक्लोन अर्थात् चक्रवातका कारण अमेरिकाका कैयौं भागमा तापक्रम शून्य डिग्रीभन्दा निकै तल पुगेको छ ।
जर्जिया र क्यालिफोर्नियामा ताल र झरनाहरू बरफ बनिसकेका छन् । नर्थ क्यारोलाइनामा अत्यधिक हिमपात भएको छ ।
यो चक्रवात न्यु इंग्ल्यान्डतर्फ बढिरहेको छ । त्यहाँ १२ इन्चसम्म हिउँ पर्ने सम्भावना छ । नायाग्रा फल्ससमेत अनेकौं तालहरू पूरै जमेका छन् । टेक्ससदेखि क्यानाडासम्मका मानिस चिसो हावाका कारण समस्यामा परेका छन् ।
यस्तो स्थिति रहिरहे केही दिनपछि अमेरिकाका केही भागमा माइनस ३५ डिग्री सेल्सियस पुग्नेछ ।
हिउँसहितको तूफानका कारण बिहीवार अमेरिकामा २७ सय विमानको उडान रद्द गरिएको छ ।
सरकारले एडभाइजरी जारी गरेर मानिसहरूलाई घरैमा बस्न भनेको छ ।
बम साइक्लोनको असर अमेरिकामा मात्र नभई बेलायतको पश्चिमी भाग र आयरल्यान्डमा पनि परेको छ । बेलायतको मौसम विभागले पनि हिउँसहितको तूफानको आशंका गरेको छ ।