अमेरिकाको क्यालिफोर्नियामा लगातारको वर्षासँगै बुधबार गएको लेदोसहितको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । अझै १३ जना हराइ रहेका छन् । लेदोसहितको पहिरोका कारण २८ जना घाइते भएका छन् । उद्धारकर्मीले अहिले पनि बेपत्ताको खोजी तथा उद्धार गरिरहेका छन् ।
लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । क्यालिफोर्नियाको मोन्टेसिटोक्षेत्रमा लेदोसहितको पहिरो गएको हो । पहिरोका कारण एक सय भन्दा धेरै घरमा पूर्ण तथा अरु तीन सय घरमा आंशिक क्षति भएको छ । उद्धारकर्मीले हिलोमा पुरिएकी दुई वर्षकी बालिकाको जीवितै उद्धार गरेका छन् । उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।