ट्रम्पको ‘फेक न्यूज अवार्ड’ कुन–कुन मिडियाले पाए ?

ट्रम्पको ‘फेक न्यूज अवार्ड’ कुन–कुन मिडियाले पाए ?
अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एक पटक चर्चा र विवादमा आउनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘द न्यूयोर्क टाइम्स’ लाई ‘फेक न्यूज अवार्ड’ को विजेता घोषणा गर्नुभएको छ । यसको अलावा ट्रम्पले अचम्मको यो अवार्ड ‘एबीसी न्यूज’, ‘सीएनएन’ र ‘द वाशिंगटन पोस्ट’ लाई प्रदान गर्नुभएको छ । उहाँले बुधबार ट्वीटरमार्फत अवार्ड सार्वजनिक गर्नुभएको हो ।

उहाँले आफूप्रति पूर्वाग्रही भएर समाचार प्रकाशन र प्रसारण गरेको भन्दै नक्कली सञ्चार माध्यम भन्दै यो अवार्ड घोषणा गर्नुभएको बताइएको छ । ट्रम्पको यो अवार्ड जीओपी डट कम वेबसाइटमार्फत सार्वजनिक गर्नुभएको थियो । सूची जारी गर्नेवित्तिकै वेबसाइट डाउन भएको थियो ।

यो वेबसाइटमा भनिएको छ, ‘सन् २०१७ पूर्वाग्रहबाट प्रभावित, अनुचित समाचार कभरेज र नक्कली समाचारले भरिपूर्ण भयो । अध्ययनले राष्ट्रपति ट्रम्पको बारेमा देखाइएका र लेखिइएका ९० प्रतिशत समाचार नकारात्मक छन् ।’ ट्रम्पले ट्वीटमार्फत भ्रष्ट र झुटो समाचारका बाबजूद आफूले धेरै पत्रकारको सम्मान गर्ने बताउनुभयो । उहाँले जनवरी २ मा ‘झुटा तथा खराब पत्रकारिता’ गर्ने सञ्चार माध्यमलाई सम्मानित गर्ने बताउनुभएको थियो ।

जीओपी डट कमले जनाए अनुसार यस्तो छ ट्रम्पको फेक न्यूज अवार्ड
१. द न्यूयोर्क टाइम्समा अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका पाउल क्रुगम्यानले ट्रम्पको जितले अमेरिकी अर्थतन्त्र कहिले नउठ्ने दावी गरेका थिए ।
२. एबीसी न्युजका ब्रायन रोसले बजारको अवस्थालाई भ्रमपूर्ण रुपमा प्रस्तुत गरेका थिए ।
३. सीएनएनले डोनाल्ड ट्रम्प र उनका छोरा डोनाल्ड जुनियर ट्रम्पको विकिलिक्सले ह्याक गरेको कागजपत्रसम्म पहुँच भएको बताएको थियो ।
४. टाइमले राष्ट्रपति ट्रम्पले मार्टिन लुथर किंग जुनियरको प्रतिमालाई आफ्नो कार्यालयबाट हटाएको गलत खबर प्रकाशन गरेको थियो ।
५. वाशिंगटन पोस्टले फ्लोरिडामा आयोजित ट्रम्पको र्यालीलाई खाली देखाएको थियो । त्यस र्यालीमा हजारौँ सहभागी भएका थिए तर मानिसहरु जम्मा हुनुभन्दा पहिलेको फूटेज देखाइएको थियो ।

ट्रम्पले यी बाहेक पनि थुप्रै आरोप लगाउनुभएको छ । उहाँले आफूलाई नकारात्मक रुपमा चित्रित गर्न केही सञ्चार माध्यमले तथ्यलाई तोडमरोड गरेर समाचार प्रस्तुत गरेको आरोप समेत लगाउनुभएको छ ।

Post Comment