अमेरिकी विदेशमन्त्री टिलर्सन भन्छन् :चीन र रूसको उपस्थिति खतराको संकेत

अमेरिकी विदेशमन्त्री टिलर्सन भन्छन् :चीन र रूसको उपस्थिति खतराको संकेत
अमेरिका

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ल्याटिन अमेरिकामा चीन र रूसको बढ्दो उपस्थितिले खतराको संकेत गरिरहेको बताए।

ल्याटिन अमेरिकाको पहिलो भ्रमणमा निस्कनुअघि टेक्ससमा बोल्दै टिलर्सनले लगानीमा चिनियाँ मोडलले देशको जनशक्ति बाहिर गएको र त्यसले केवल चिनियाँ जनतालाई मात्रै फाइदा पुगेको बताएका हुन्।

उनले ल्याटिन अमेरिकालाई नयाँ साम्राज्यवादी शक्ति नचाहिएको पनि बताए।

टिलर्सनले अमेरिकाले भेनेजुएला र क्यूबामा प्रजातन्त्र पुनर्स्थापित गर्न र त्यहाँ स्वतन्त्र र निस्पक्ष चुनाव गराउनका लागि दबाब दिइरहने पनि बताए।

ल्याटिन अमेरिकाको भ्रमणमा निस्कनुअघि टेक्सस विश्वविद्यालयमा आफ्नो विदेश नीतिबारे भाषण दिँदै विदेशमन्त्री टिलर्सनले यस्तो बताएका हुन्।

उनले ल्याटिन अमेरिकालाई रूस वा चीनसँग काम गर्न भन्दा अमेरिकासँग गर्न पनि आह्वान गरे।

चीन र रूसले ल्याटिन अमेरिकामा आफ्नो उपस्थिति दह्रो बनाउँदै लगेको उनले बताए।

बेइजिङले गर्दै आएको आर्थिक अभ्यास निष्पक्ष नभएको उनले बताए।

टिलर्सनले रूसले निरंकुश शासन भएका देशमा हतियारहरू बेचेको आरोप लगाउँदै उसको बढ्दो उपस्थिति खतराको संकेत भएको बताए।

भाषणकै क्रममा उनले ट्रम्प प्रशासनले भेनेजुएलामा सत्ता परिवर्तनका लागि कुनै पैरवी नगरेको पनि बताए।

उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले संविधानमा रहेर काम गरून् भन्ने मात्रै अमेरिकाले चाहेको बताए।

उनले अमेरिकाले भेनेजुएलामा शासन परिवर्तनका लागि नउक्साएको तर गम्भीर संकटका बेला ल्याटिन अमेरिकामा सेनाले हस्तक्षेप गरेको इतिहास रहेको बताए।

सेनाले मडुरोलाई सत्ताबाट हटाउने निर्णय गर्नसक्ने सम्भावना दर्साउँदै उनले तर त्यही हुनसक्ला भन्ने आफूलाई थाहा नभएको पनि बताए।

मडुरो आफैँले सत्ता छोडिदिए त्यो सबैभन्दा सजिलो हुने उनले बताए।

उनले राष्ट्रपति मडुरोले क्यूबामा शरण खोज्नुपर्ने पनि सुझाए।

भेनेजुएलाका विदेशमन्त्री खोर्खे आरेयासाले ल्याटिन अमेरिकी देशहरू अमेरिकी साम्राज्यवादविरुद्ध एकतावद्ध हुनुपर्ने र ट्रम्प प्रशासनले पूरै क्षेत्रलाई धम्की दिएको बताए।

Post Comment