अमेरिकामा डोनल्ड ट्रम्प प्रशासनले एच१बी भिसा नियम कडा गरेपछि यसबाट फाइदा उठाइरहेका भारतीयहरूमा रुवाबासी चलेको छ ।
अमेरिकामा आईटी क्षेत्रमा काम गर्न चाहने भारतीयहरूले यही भिसामार्फत परिवारलाई समेत बोलाउने गरेकोमा अब भारतीयलाई त्यहाँ जानै गाह्रो हुने भएको छ ।
अमेरिकी सरकारको नयाँ नीतिअन्तर्गत अब जब वर्कका रूपमा काम गर्न यस भिसा दिएर बोलाइएका कर्मचारीको काम विशेष प्रकारको छ र विशेष आवश्यकता पूरा गर्नका लागि उसलाई बोलाइएको हो भनी साबित गर्नुपर्नेछ ।
सरकारले यस्तो भिसा उच्च क्षमता भएका मानिसका लागि जारी गर्छ । त्यस्तो क्षमता भएका मानिसको कमी अमेरिकामा भएमा बाहिरबाट यस भिसाबाट बोलाइन्छ ।
सरकारले सात पन्ना लामो एक नीतिगत दस्तावेज जारी गरेर नयाँ नियमको बारेमा बताएको हो । यसअन्तर्गत अमेरिकाको नागरिकता तथा आप्रवास विभागलाई यो भिसा कार्यस्थलको अवधिसम्मका लागि मात्र जारी गर्ने अनुमति हुन्छ ।
यस्तो अवधि तीन वर्षभन्दा कम हुन्छ । यसअघि यो एकचोटिमा तीन वर्षका लागि दिइन्थ्यो ।
सन् २०१८ को अक्टोबर १ तारिखबाट शुरू हुने आर्थिक वर्षका लागि एच१बी भिसाको निवेदन अप्रिल २ बाट खुल्छ ।