फ्लोरिडामा गत साता भएको गोलीप्रहारको घटनापछि कैयौं अमेरिकी कम्पनीहरूले बन्दुक राख्न पाउनुपर्ने पक्षमा वकालत गर्ने अमेरिकाको न्याश्नल राइफल असोसिएशन (एनआरए)सँगको सम्बन्ध तोडेका छन्।
उक्त गोली प्रहारको घटनापछि उपभोक्ताहरूले एनआरएसँग आबद्ध रहेका अमेरिकी कम्पनीहरूलाई बहिष्कार गर्ने बताएपछि ती कम्पनीहरूले यस्तो कदम चालेका हुन्।
सामाजिक सञ्जालमा एनआरएसँग जोडिएका कम्पनीहरूलाई बहिस्कार गर्न माग गर्दै अभियानहरू चलेपछि थुप्रै कम्पनीहरूले एनआरएसँगको साझेदारी अन्त्य गरेका हुन्।
त्यसरी एनआरएसँग सम्बन्ध तोड्ने कम्पनीहरूमा कार भाडामा दिने हर्ट्ज एण्ड इन्टरप्राइज होल्डिङ्स् छन् जसले उक्त संस्थाका सदस्यहरूलाई सहुलियत दिन बन्द गरेका छन्।
मेटलाइफ इन्स्योरेन्सले पनि एनआरए समूहका सदस्यलाई दिइँदै आएको सहुलियत कार्यक्रम बन्द गरेको बताएको छ।
त्यस्तै सिमेन्टेक नामको सफ्टवेयर कम्पनीले पनि आफ्ना उत्पादनमा कुनै छुट नदिने जनाएको छ।
एनआरएका प्रमुखले गत बिहीबार १७ जना मारिने गरी फ्लोरिडास्थित विद्यालयमा भएको गोली प्रहारको घटनाले निम्त्याएको वियोगलाई अवसरवादीहरूले बन्दुक राख्न पाउने अधिकार खोस्नका लागि प्रयोग गरिरहेको दावी गरेका थिए।
अमेरिकी कम्पनीहरूको यो कदमले राजनीतिक शक्तिसँग पहुँच रहेका बन्दुक राख्न पाउने वकालत गर्ने समूहहरुलाई असहज हुने देखिन्छ।
५० लाख सदस्य भएको दाबी गर्ने एनआरएले ती कम्पनीहरूको कदमबारे कुनै प्रतिक्रिया जनाएको छैन।