सबैजसो साझेदारसंगको व्यापारमा नोक्सानी भइरहेकाले अमेरिकाका लागि व्यापारिक युद्ध राम्रो हुने र उसले त्यसलाई सजिलै जित्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
स्टील र एलुमिनियम धातु आयातमा कर लगाउने अमेरिकी राष्ट्रपतिको निर्णयप्रति उसका व्यापारिक साझेदार देशहरुले आक्रोश व्यक्त गरेपछि उनले उक्त टिप्पणी गरेका हुन्।
क्यानाडा र युरोपेली युनियनले आफूहरुले पनि नयाँ कदमहरु चाल्ने बताएका छन्।
मेक्सिको, चीन र ब्राजिलले पनि प्रतिउत्तरमा चाल्ने कदमबारे सोचिरहेको बताएका छन्।
व्यापारिक साझेदारहरुको प्रतिक्रियापश्चात राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै व्यापारिक युद्ध राम्रो भएको बताए।
अमेरिकाले अर्बौं डलरको नोक्सानी बेहोरीरहेकाले यस्ता व्यापारिक युद्ध उसले सहजै जित्ने ट्रम्पले उल्लेख गरे।
बिहीवार उनले अनुचित व्यापार र खराब नीतिबाट अमेरिकालाई नोक्सान भएको उल्लेख गर्दै स्टील आयातमा २५ र एलुमिनियममा १० प्रतिशत कर लाग्ने घोषणा गरे।
आलोचकहरुले आयातमा कर लगाउने निर्णयले अमेरिकी रोजगारीलाई संरक्षण गर्न नसक्ने र अन्ततः उपभोक्ताहरुले नै त्यसको मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन्।
ट्रम्पको उक्त निर्णयपछि एसियामा शुक्रबार शेयर बजार ओरालो लागेका छन्।
जापानको कार निर्माण कम्पनी टोयोटाको शेयर दुई प्रतिशत भन्दा बढी र निप्पोन स्टीलको स्टक चार प्रतिशतले ओरालो लागेको छ।
टोयोटाले अमेरिकाको निर्णयले गाडी निर्माता, गाडी आपूर्तिकर्ता र उपभोक्ताहरुलाई प्रभाव पार्ने जनाएको छ।
शुक्रबार चीनले अमेरिकालाई व्यापार संरक्षणका कदमहरु रोक्न आग्रह गरेको थियो।
एएफपी समाचार एजेन्सीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयीङले यदी सबै देशले अमेरिकाको उदाहरण पछ्याउने हो भने त्यसले निश्चित रुपमा अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर प्रभाव पर्ने बताए।
राष्ट्रपति ट्रम्पले गत अप्रिलमा १९६२ को कानूनको प्रावधान अन्तर्गत उद्योगहरुमा अनुसन्धान गर्न आदेश दिएका थिए।
यूरोपेली आयोगका अध्यक्ष याँ क्लड यंकरले अमेरिकी कदमले हजारौं यूरोपेलीहरुको रोजगारीलाई जोखिममा पार्ने बताए।
उनले ट्रम्पको उक्त निर्णय यूरोपेली उद्योगका लागि अनुचित भएको बताउँदै इयू चुप लागेर नबस्ने प्रतिक्रिया दिए।