एक वयष्क फिल्मकी अभिनेत्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेकी छन् । स्टोर्मी डेनियल्स नामक ती पोर्नस्टारले ट्रम्पसँग आफूले हस्ताक्षर गरेको ‘ननडिस्क्लोजर एग्रीमेन्ट’ अवैध भएको भन्दै मुद्दा दायर गरेकी हुन् ।
यसअघि सन् २००६ मा ट्रम्पपत्नी मेलानिया सुत्केरी भएलगत्तै डेनियल्सले ट्रम्पसँग यौन सम्बन्ध कायम गरेको बताएकी थिइन् । यो कुराको खुलासा उनले सन् २०११ को एक अन्तर्वार्तामा सो खुलासा गरेकी थिइन् । उनको खास नाम स्टेफेनी क्लिफोर्ड हो ।
गत जनवरी महिनामा यो विषयमा डेनियल्सले मुख नखोल्ने सम्झौतामा हस्ताक्षर गरेको समाचार वाल स्ट्रिट जर्नलले छापेपछि यसबारे पुनः चर्चा चुलिएको थियो ।
फेब्रुअरीमा ट्रम्पका व्यक्तिगत वकिल माइकल कोहेनले डेनियल्सलाई आफैँले १ लाख ३० हजार डलर तिरेको पुष्टि गरेका थिए ।
मंगलबार सो सम्झौता वैध नभएको भन्दै डेनियल्सले लस एञ्जलसमा मुद्दा दायर गरेकी छन् । उनका अनुसार सन् २०१६ मा भएको सो सम्झौतामा डेनियल्स र वकिल कोहेनले हस्ताक्षर गरेका छन् तर ट्रम्पले त्यसमा हस्ताक्षर गरेका छैनन् । ट्रम्पले हस्ताक्षर नै नगरेको सम्झौता वैध नहुने उनको तर्क छ ।