संयुक्त राज्य अमेरिकाको मुद्रा निष्काशन गर्ने अधिकारीहरुले सिक्कामा यतिञ्जेल पुरुषको चित्र मात्र उत्कीर्ण (इम्बोस्ड) गरिआएकोमा अबदेखि अमेरिकी इतिहासमा उल्लेख्य भूमिका भएका महिलाको चित्र पनि राख्ने भएका छन् ।
गत साता अमेरिकी संसदमा यसबारे रिपलब्लिकन र डेमोक्र्याटिक दुवै पार्टीका महिला सदस्यहरुले साझा विधेयक प्रस्तुत गरेका छन् ।
यो विधेयक ऐन बनेपछि अमेरिकी टक्सारले अमेरिकाका सबै ५० राज्य, पाँच क्षेत्र र राजधानी वासिङ्टन डिसीका नेताहरुले छानेका महिलाहरुको चित्र २५ सेन्टको सिक्काको एउटा पाटोमा छापिने छ ।
विधेयक प्रस्तोतामध्येकी क्यालिफोर्नियाकी सदस्य (डेमोक्र्याट) बर्बरा लीले सिएनएन् टेलिभिजनलाई भनिन्, ‘विगतमा ठूलो योगदान गरेका कतिपय महिलाको सम्मान हुन सकेको छैन । ऐन बनेपछि तिनको योगदानको कदर हुन थाल्ने छ ।’
‘वुमन्स हिस्ट्री मन्थ’को सन्दर्भ पारेर प्रस्तुत गरिएको विधेयकमा जीवित महिलालाई भने सिक्कामा चित्राङ्कित नगर्ने व्यवस्था गरिएको छ ।
प्रस्तावित सिक्कलाई सन् २०२० मा डिजाइन गरिने छ । किनभने त्या वर्ष अमेरिकी महिलाले मत दिने अधिकार पाएको ठीक एकशय वर्ष हुनेछ । सिक्कलाई बजारमा प्रक्षेपण गर्ने काम भने सन् २०२१ मा मात्र हुने छ ।
सिक्कामा महिलालाई त्रिचाङ्कित गर्ने विचारलाई मूर्तरुप दिन राष्ट्रपति ओबामाको कार्यकालमा अर्थमन्त्री रहेकी रोजी रियोसले उल्लेख्य सहयोग गरेकी थिइन् । उनले दश डलरको नोटमा पनि महिलाको चित्र राख्ने प्रयास गरेकी थिइन् ।
कागजी नोटबारे अर्थ मन्त्रालयले सोझै निर्णय गर्न सक्दछ । तर सिक्का सम्बन्धी निर्णय संसद (काँग्रेस)बाटै हुने कानूनी प्रावधान छ ।
रोजी रियोस् भन्छिन्, ‘यो जनसंख्याको आधा हिस्सालाई सहभागिताको अवसर दिने विषयसित जोडिएको प्रस्ताव हो ।’
शुरुमा प्रचलनमा आउने यस्तो सिक्का २५ सेन्ट (चौथाइ डलर) बराबरको हुने छ ।