ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्पको वयस्क चलचित्रकी एकजना अभिनेत्रीसँग सम्बन्ध रहेको भन्ने आरोपहरू अस्वीकार गरेको छ।
सीबीएस न्यूजको ‘सिक्स्टी मिनेट्स’ कार्यक्रममा अभिनेत्री स्टोर्मी ड्यानियल्सले सन् २००६ मा ट्रम्पसँग भएको भनिएको सम्बन्धबारे विस्तृत रूपमा बताएकी छन्।
तर ह्वाइट हाउसका एकजना प्रवक्ता राज शाहले भने, “गएराति ड्यानियल्सले आफ्नो अन्तर्वार्तामा गरेका कुनै पनि दावी तथ्यपरक रहेको राष्ट्रपतिलाई लाग्दैन।”
ट्रम्पका वकिलहरूले ड्यानियल्सले कुराहरू सार्वजनिक नगर्ने सम्झौता तोडेको भन्दै उनीबाट २ करोड डलर क्षतिपूर्तिको माग गरेका छन्।
आइतवार राति प्रसारित अन्तर्वार्तामा ३९ वर्षीया ड्यानियल्सले सन् २०१६ को राष्ट्रपतीय चुनाव हुनु केही समयअघि ट्रम्पका वकिल माइकल कोअनबाट ‘कुराहरू सार्वजनिक नगर्ने सहमतिस्वरूप’ १ लाख ३० हजार डलर पाएको बताएकी थिइन्।
राष्ट्रपति ट्रम्पले सहमतिमा हस्ताक्षर नगरेकोले त्यो अवैध रहेको भन्दै ड्यानियल्सले उनीविरूद्ध मुद्दा हाल्न लागेकी छन्।
आफ्नो मुद्दामा कोअनलाई विपक्षी बनाउन लागेको ड्यानियल्सले उल्लेख गरेकी छन्।
रकम दिइएको कुरा सार्वजनिक गरेर कोअनले आफ्नो मानहानी गरेकाले उनलाई विपक्षी बनाउन चाहेको ड्यानियल्सको भनाइ छ।
मध्य फेब्रअरीमा कोअनले जारी गरेको वक्तव्यमा भनिएको छ, “कुनै कुरा सत्य छैन भन्दैमा तपाईँलाई हानी वा क्षति पुर्याउन सक्दैन भन्ने हुँदैन। म सधैँ ट्रम्पको बचाउ गर्नेछु।”
ड्यानियल्सले चाहिँ आफ्नो परिवारको सुरक्षाबारे चिन्ता लागेर ‘कुराहरू सार्वजनिक नगर्ने सहमतिस्वरूप’ रकम लिने सहमतिमा हस्ताक्षर गरेको बताएकी छन्।
आइतवारको अन्तर्वार्तामा उनले सन् २०११ मा एउटा कार पार्किङमा एक अपरिचित व्यक्तिले ‘ट्रम्पको पछि नलाग्न’ भन्दै धम्की दिएको बताइन्।
ड्यानियल्सले ट्रम्पले आफ्नो टेलिभिजन कार्यक्रम ‘द अप्रेन्टिस’मा स्थान दिने प्रस्ताव गरेपछि आफूहरूबीच असुरक्षित यौन सम्बन्ध भएको पनि बताएकी छन्।
तर ह्वाइट हाउसका प्रवक्ता शाहले भने, “राष्ट्पतिले सशक्त ढङ्गले, स्पष्ट रूपमा र निरन्तर ती दावीहरू अस्वीकार गर्दै आएका छन्। ती दावीहरू गर्ने मान्छे मात्रै आफ्ना कुरामा अस्थिर देखिएकी छन्।”