‘सिरियालाई मुक्त गर’ भन्दै अमेरिकामै हस्ताक्षर संकलन

‘सिरियालाई मुक्त गर’ भन्दै अमेरिकामै हस्ताक्षर संकलन
अमेरिका

अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन गरिएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि विरोधका लागि जम्मा भएका दर्जनौं प्रदर्शनकारीहरुले सो आक्रमणका विरुद्ध शनिबार हस्ताक्षर संकलन गरेका हुन् ।

अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले सिरियामा शनिबार बिहानै आक्रमण सुरु गरेको २४ घण्टा पनि नवित्दै उनीहरुले हस्ताक्षर संकलन सुरु गरेको समाचारमा जनाइएको छ ।

प्रदर्शनकारीहरुले पहेँलो व्यानर सहित ‘सिरियालाई मुक्त गर’, ‘सिरियामा अमेरिकाको युद्ध हुँदैन’, ‘सिरियामाथिको बम आक्रमणले मानवलाई फाइदा गर्दैन, यस्ले उनीहरुलाई मार्छ,’ जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए ।

उनीहरुले युद्धतर्फको बाटो छोडेर शान्तिको मार्ग रोज्न पनि आह्वान गरेका थिए । उनीहरुले विभिन्न सहरहरुमा शृंखलाबद्ध रुपले प्रदर्शन गरेका छन् ।

सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रहरूमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका हुन् ।

यो हमला अहिलेका लागि पूरा भएको अमेरिकाले बताएको छ । अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारहरुको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ ।

यसबाट हजारौँ नागरिक मारिएको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए । (रासस÷सिन्ह्वा)

Post Comment