अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि नैतिक रुपमा योग्य नभएको तीखो टिप्पणी गरेका छन् ।
काठमाडौं, बैशाख ३ । अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि नैतिक रुपमा योग्य नभएको तीखो टिप्पणी गरेका छन् ।
महिलालाई अपमानजनक व्यवहार गर्ने व्यक्ति कसरी राष्ट्रपतिका लागि योग्य हुनसक्छ भन्ने प्रश्न उनले गरेका हुन ।
एक अमेरिकी टेलिभिजनसँग कुरा गर्दै कोमीले ट्रम्प राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न मानसिक रुपमा अयोग्य नभए पनि निरन्तरको झूठोपन र महिलाबारेका धारणाका कारण असक्षम रहेको जिकीर गरे ।
रुससँग ट्रम्पलाई तर्साउन प्रयोग गर्न मिल्ने सामाग्री भएको हुनसक्ने आशंका पनि कोमीको छ । राष्ट्रपति ट्रम्पले न्यायलाई अवरोध गरिरहेको केही प्रमाण निश्चित रुपमा रहेको पनि उनको भनाइ छ ।
ट्रम्पले भने ट्विटरमार्फत् कोमीलाई ठग र नराम्रो व्यक्तिको संज्ञा दिएका छन् ।
अघिल्लो वर्ष ट्रम्पले पदबाट बर्खास्त गरेपछि पहिलो पटक टेलिभिजनमा अन्तर्वार्ता दिंदै कोमीले ट्रम्पका लागि साँचो कुराको खासै महत्व नराख्ने टिप्पणी पनि गरे ।
अन्तर्वार्ता प्रसारण हुनुभन्दा अघि कोमीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले भने कोमीले धेरै ढाँटेको जिकीर गरेका थिए ।
कोमीले आफ्नो आत्मकथा प्रकाशनमा ल्याउन लागेपछि दुई बीचको विवाद झन् चुलिंदो छ ।
ट्रम्पले भने नराम्ररी समीक्षा गरिएको पुस्तकले ठूला सवाल खडा गर्ने भन्दै कोमीलाई थुनामा राख्नुपर्नेसम्म बताएका छन् ।