‘द न्यूयोर्क टाइम्स’ र ‘द न्यू योर्कर’ पत्रिकालाई हलिउड फिल्म निर्माता हार्वी वाइन्सटाइनमाथि लागेको यौन उत्पीडनको आरोपको रिपोर्टिङका लागि यस वर्षको पुलित्जर पुरस्कार दिइएको छ ।
फिल्मी दुनियाँमा निकै शीर्ष स्थानमा रहेका हार्वी वाइन्स्टाइनमाथि थुप्रै महिला र अभिनेत्रीले यौन उत्पीडन र बलात्कारको आरोप लगाएका छन् ।
यता, हार्वी वाइन्स्टाइनले भने हरेक पटक सहमतीमा यौन सम्बन्ध स्थापित गरेको बताउँदै आएका छन् ।
हार्वी वाइन्स्टाइविरुद्ध लागेको आरोपको अनुसन्धान पछि संसारभरी सोसल मिडियामा ‘मी टू’ अभियान सुरु भएको थियो जसमा महिलाले कार्यस्थल र अन्य स्थानमा यौन उत्पीडनको घटनाको अनुभव साझा गरेका थिए ।
पुलित्जर पुरस्कार अमेरिकी पत्रकारितामा सबैभन्दा प्रतिष्ठित सम्मान हो ।
खोजी पत्रकारिताः
यस्तै, वासिङ्टन पोष्टलाई खोजी पत्रकारिताको क्षेत्रमा अवार्ड दिइएको छ । यो अवार्ड अलबामाबाट सिनेटका उम्मेद्वार रोय मूरमाथि दशकौं पहिले लागेको यौन उत्पीडनको आरोपमा खोजी गरेका कारण दिइएको थियो । रिपब्लिकन उम्मेद्वार रोय मुरले सबै आरोपलाई खण्डन गरे तर यसले चुनावमा व्यापक असर गर्यो र डेमोक्रेटिक पार्टीका उम्मेद्वारले चुनाव जिते ।
यस्तै, सन् २०१६ को राष्ट्रपति चुनावमा रुसको कथित संलग्नतामाथि गरिएको रिपोर्टिङका लागि वासिङ्टन पोष्ट र न्यूयोर्क टाइम्सलाई साझा पुरस्कार प्रदान गरिएको छ ।
पुलित्जर प्रशासक डाना केनडीले जोडी केनटो र मेगन टूहेको नेतृत्वमा न्यूयोर्क टाइम्सको समूहले र द न्यू योर्करका लागि लेख्ने रोनन फेरोले बिस्फोटक र प्रभावकारी पत्रकारिकता गरे जसमार्फत धनाढ्य र शक्तिशाली यौन उत्पीडकको पर्दाफास गरेको बताए ।