संयुक्त राज्य अमेरिकाका नयाँ विदेशमन्त्री माइक पोम्पेओले मध्यपूर्वमा इरानले अस्थिरता उत्पन्न गराउने प्रयासहरू गरेको भन्दै उसको निन्दा गरेका छन्।
पहिलोपटक मध्यपूर्वको भ्रमण गरिरहेका अमेरिकी विदेशमन्त्री पोम्पेओले साउदी अरेबियाको राजधानी रियादमा भएका वार्तापछि बोल्दै त्यस्तो टिप्पणी गरेका हुन्।
इरानले छिमेकी देश यमनस्थित हुथी विद्रोहीहरूलाई हातहतियार उपलब्ध गराइरहेको आरोप पोम्पेओले लगाएका छन्।
हुथी विद्रोहीहरू विरुद्भको युद्धमा साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनको सरकारलाई साथ दिँदै आएको छ।
सीमापार साउदी अरेबियाभित्र क्षेप्यास्त्र प्रहार गरिरहेको हुथी विद्रोहीहरूलाई तेहरानले सहयोग गरिरहेको पनि पोम्पेओले आरोप लगाए।
बीबीसीका मध्यपूर्व विश्लेषक एलन जन्सटन भन्छन्- ट्रम्प प्रशासन इरानमाथि थप दबाब सिर्जना गर्न इच्छुक रहेको देखिएको छ।
जन्सटनका अनुसार पोम्पेओले मध्यपूर्वमा इरानको प्रभावको अँध्यारो चित्र चित्रित गरेका छन्।
तर यमनमा जारी द्वन्द्वलाई राजनीतिक निकास दिन पनि पोम्पेओले आह्वान गरेका छन्।
उनले खाडी मुलुकहरूबीच एकताको आवश्यकता रहेको पनि बताए।
पोम्पेओको त्यस्तो भनाइ संयुक्त राज्य अमेरिकाले‚ कतार तथा साउदी अरेबियासहितका उसका अन्य छिमेकीहरुसँग जारी रहेको उसको तिक्ततापूर्ण कूटनीतिक विवाद अन्त्य गराउन चाहेको संकेत पनि हो।
विश्व शक्ति राष्ट्रहरु र इरानबीच सन् २०१५ भएको परमाणु कार्यक्रम सम्बन्धी सम्झौताबाट पछि हट्ने वा नहट्नेबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई हप्तामा त्यसबारे निर्णय लिदैँछन्।
ट्म्पले सो सम्झौता “त्रुटिपूर्ण” भएको भन्दै आएका छन्।