अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दक्षिण कोरियामा अमेरिकी सैनिकहरूको संख्या घटाउने विकल्पका बारेमा अनुरोध गरेको द न्युयोर्क टाइम्सले लेखेको छ ।
राष्ट्रपतिले रक्षा मन्त्रालयलाई गरेको यो अनुरोध उत्तर कोरियाका नेता किम जोङ उनसँगको सम्मेलनअघि आएको हो । उक्त सम्मेलन दुई कोरियाबीचको असैन्यीकृत क्षेत्रमा हुने सम्भावना छ ।
उत्तर र दक्षिण कोरियाले हालै मात्र ऐतिहासिक सम्मेलन गरेर कोरियाली प्रायद्वीपलाई गैरआणविकीकरण गर्ने तथा कोरियाली युद्धलाई औपचारिक रूपमा टुंग्याउने विषयमा समझदारी गरेका छन् ।
यी दुई देशबीच शान्तिवार्ता कायम रहेमा उक्त क्षेत्रमा अमेरिकाको उपस्थिति खासै आवश्यक नहुने अमेरिकी अधिकारीहरूले द न्युयोर्क टाइम्सलाई बताए ।
ट्रम्प प्रशासनले कोरियाली प्रायद्वीपबाट अमेरिकी सेना हटाउने विषयमा के सोचिरहेको छ भन्ने प्रश्नमा ह्वाइट हाउसनिकट एक स्रोतले यो कुरा भविष्यमा हुनसक्ने तर ‘आणविक हतियारहरू विश्वसनीय रूपमा नहराएसम्म यो सम्भव नभएको’ बतायो ।
तर दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालयले शुक्रवार जारी गरेको वक्तव्यमा अमेरिकाले सैनिकको संख्या घटाउने विषयमा सोचिरहेको कुरालाई खारेज गरे । वक्तव्यअनुसार, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का एक अधिकारीले दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा प्रमुख चुङ यूई–योङलाई द न्युयोर्क टाइम्सको रिपोर्टमा कुनै सत्यता नरहेको बताएका हुन् ।
पेन्टागनका प्रवक्ता डाना ह्वाइटले विभागमा ‘राष्ट्रपतिका लागि सैन्य विकल्पका विषयमा कुनै जानकारी नरहेको’ बताए ।