अमेरिकाको न्युयोर्क राज्यका महान्यायाधिवक्ता एरिक स्केन्डरम्यानले सोमवार राजीनामा दिएका छन् । चार महिलाले उनीमाथि शारीरिक शोषणको आरोप लगाएपछि उनले राजीनामा दिएका हुन् ।
एक स्थानीय पत्रिकालाई अन्तर्वार्ता दिँदै ती महिलाले शोषणको आरोप लगाएका हुन् । अन्तर्वार्ता छापिएको चार घन्टाभित्र गभर्नर एन्ड्रु कुओमोले स्केन्डरम्यानको राजीनामा मागे ।
स्केन्डरम्यानले एक बयानमा भने, ‘केही घन्टाअघि मेरोविरुद्ध अनेक गम्भीर आरोप लागे । तिनको म जोडदार खण्डन गर्छु । यी आरोप मेरो व्यावसायिक आचरण वा कार्यालय सञ्चालनसँग सम्बन्धित छैनन् तर यसले मेरो काममा प्रभाव पार्नेछ । त्यसैले म राजीनामा दिँदैछु ।’
दुई महिलाले स्केन्डरम्यानसँगको सम्बन्धमा कैयौंचोटि उनले शारीरिक शोषण गरेको बताए । तर कुनै पनि महिलाले प्रहरीसमक्ष उजुरी गरेनन् ।
तेस्री महिलाले पनि यी दुई महिलालाई आफ्नो पीडा सुनाइन् तर खुलेर बाहिर आउन चाहिनन् । चौथी महिलाले चाहिँ भनेको नमानेपछि स्केन्डरम्यानले उनलाई थप्पड हानेको बताइन् । तर महिलाले आफ्नो पहिचान खोल्न मानिनन् ।