गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा.शेष घले र निवर्तमान आइसीसी सदस्य जमुना गुरुङको प्रमुख आतिथ्यमा अमेरिकाको टेक्ससमा भएको युनाईटेड नेप्लिज एसोसीएसन (युएनए)को तेश्रो सम्मेलन विभिन्न कार्यक्रम र आगामी दुर्इ वर्षका लागि नयाँ नेतृत्व चयन सहित सम्पन्न भएको छ ।
युएनए सम्मेलनमा खेलकुद, आइटी, करियर फेयर, इमिग्रेशन, महिला बिकास, इण्टरप्रेनर जस्ता बिषयमा प्रस्तुति र छलफल र गीत संगीतले भरपुर मनोरंजन समेत भएका थिए । बिजयी खेलाडीहरूलाई पुरस्कार, प्रमाण पत्र र शिल्ड सहित प्रदान गरेर कार्यक्रम समापन भएको थियो ।
कार्यक्रमको अन्तिम दिन प्रमुख अतिथि डा शेष घलेले आफ्नो पारिवारिक जीवन र ब्यबसायको सफलताको प्रेरक कुरा बताई रहंदा सबैको ध्यान केन्द्रित भएको थियो । बिशेष गरि उहाँले इजी र क्विकमनी होइन सानो ब्यबसायबाट सुरु गर्दै सिक्दै, बढाउँदै इमान्दारसाथ गयोभने अवश्य सफलता पाइने कुरा बताए ।
त्यसैगरी डा घलेले ब्यबसायको दृढ इच्छा, स्पस्ट योजना र मन भयो भने लगानीका थुप्रै अवसर हुने बताए । नेपालको लागानी भनेको एक किसिमको भावनाको लागानी हो, पहिला आफ्नो ठाउँमा सफलता लिनुहोस्, खुट्टा दरो गरि टेक्नुहोस अनि नेपालमा लगानीको लागि अवश्य सजिलो हुने बताए ।
कार्यक्रमको समापन गर्दै युएनएका अध्यक्ष पासाङ्ग लामाले संस्थाको उद्देश्य भनेको युवाहरुलाई प्रेरणा दिनु, अमेरिकी मेन स्ट्रिममा लाइजन सहयोग गर्नु रहेको बताए । उनले आगामी दुइ बर्षका लागि बि एन पन्तको अध्यक्षतामा बनेको नयाँ नेतृत्वको घोषणा समेत गरे ।