ट्रम्प फाउन्डेशन विरुद्ध अभियोग

ट्रम्प फाउन्डेशन विरुद्ध अभियोग
अमेरिका

अमेरिकाको न्यूयोर्क राज्यले राष्ट्रपति ट्रम्पको एउटा परोपकारी संस्थाले एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ।

न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले ट्रम्प फाउन्डेशनले डोनल्ड ट्रम्पको तर्फबाट “लगभग चेकबुकको जस्तै काम गरेर” विभिन्न व्यवसाय र गैरसरकारी संस्थाहरूलाई कानुनको बेवास्ता गर्दै जथाभाबी रकम तिरेको आरोप लगाएकी छन्।

उनले तयार पारेको अभियोगपत्रमा विगत एक दशकदेखि ट्रम्प फाउन्डेसनले त्यस्तै शैलीमा काम गरेको उल्लेख गरिएको छ।

ट्रम्प फाउन्डेशनले चाहिँ एक विज्ञप्ति जारी गर्दै ती आरोपहरू अस्वीकार गरेको छ।

राष्ट्रपति ट्रम्पले उनकै शब्दमा न्यूयोर्कका “फोहोरी डिमोक्र्याटहरूले” त्यो मुद्दा अघि सारेको आरोप लगाएका छन्।

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्चर भन्छन्, “न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले डोनल्ड ट्रम्प र उनको व्यापारिक साम्राज्य विरुद्ध जारी फौजदारी अनुसन्धानमा एउटा नयाँ मोर्चा खुला गरिदिएकी छन्।”

Post Comment