संयुक्त राज्य अमेरिकाका सयौँ शहरमा राष्ट्रपति डोनल्ड ट्रम्पका आप्रवासन नीतिहरूको विरोधमा र्यालीहरू आयोजना भएका छन्।
मानिसहरूले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासी परिवारलाई उनीहरूका सन्तानबाट अलग गरिएकोमा विरोध गर्दै ती प्रदर्शनमा भाग लिएका छन्।
जनस्तरमा आक्रोश व्यक्त भएपछि त्यसलाई रोक्ने राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन्।
६ सय ३० भन्दा बढी शहरमा कार्यक्रमहरू आयोजना गर्ने योजना बनाइएको थियो र प्रदर्शनकारीहरूले अमेरिकी सीमामा अलग गरिएका आप्रवासी परिवारलाई सँगै रहनदिइनुपर्ने माग राखेका थिए।
चौतर्फी आक्रोशपछि बालबालिकालाई अभिभावकबाट अलग गर्ने नीति उल्टायाउने राष्ट्रपति ट्रम्पले घोषणा गरे पनि अहिले पनि २ हजारभन्दा बढी बालबालिका आफ्ना आमाबुवाबाट अलग गरिएका छन्।
अभिभावक र सन्तानको सम्बन्ध प्रमाणित गर्ने अभिलेख नराखिएको भन्दै त्यस्ता बालबालिकाको भविष्यलाई लिएर चिन्ताहरू व्यक्त भइरहेका छन्।
म्पले परिवारहरूलाई नछुटाइ बन्दीगृहमा राखिने बताएका थिए।
तर आलोचकहरूले छुट्याएर राखिसकिएका २३ सयभन्दा बढी बालबालिकाको अवस्था पछिल्लो आदेशले सम्बोधन नगर्ने बताएका छन्।
यसै हप्ताको शुरूमा क्यालिफोर्निया राज्यका एक न्यायाधीशले परिवारहरूलाई ३० दिनभित्र मिलाप गराउन आदेश दिएका थिए।
यसैबीच एउटा ट्वीटमा राष्ट्रपति ट्रम्पले गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूलाई अदालत नै नलगी तत्कालै सीमाबाटै फर्काइनुपर्ने बताएका छन्।
उनले अमेरिकाका आप्रवासन कानून संसारकै काम नलाग्ने कानून भएको पनि उल्लेख गरेका छन्।