ट्रम्पको आप्रवासन नीतिको विरोधमा स्ट्याच्यु अफ लिबर्टी चढ्न खोज्ने महिला पक्राउ

ट्रम्पको आप्रवासन नीतिको विरोधमा स्ट्याच्यु अफ लिबर्टी चढ्न खोज्ने महिला पक्राउ
अमेरिका

अमेरिकाको न्युयोर्क शहरमा एक महिलालाई स्ट्याच्यु अफ लिबर्टीमा चढ्न खोजेको आरोपमा पक्राउ गरिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीविरुद्ध शून्य सहनशीलता नीति ल्याएपछि त्यसको विरोधमा महिलाले यस्तो काम गरेकी हुन् ।

ट्रम्पको नीतिअन्तर्गत मेक्सिको सीमामा प्रवासी आमाबुवालाई उनीहरूका सन्तानबाट अलग गरिँदैछ । सीएनएनका अनुसार, स्ट्याच्यु अफ लिबर्टीमा चढेकी महिलासँग ट्रम्प प्रशासनले कुराकानी गर्ने कोशिश गरेको छ ।

ती महिला प्याट्रिसिया ओकोउमू हुन् । महिलालाई तल झर्न लगाइयो तर उनी मानिनन् । तीन घन्टासम्म उनी त्यहीँ बसिरहिन् । न्युयोर्क प्रहरी विभागको सूत्रले बताएअनुसार, प्याट्रिसिया ट्रम्प नीतिको विरोध गर्ने समूहको एक सदस्य हुन् ।
बच्चाहरूलाई हिरासत केन्द्रबाट रिहा नगरिएसम्म आफू त्यहीँ बस्ने धम्की उनले दिएकी थिइन् ।

प्रहरी अधिकारी ब्रायन ग्लेकेनले बुधवार साँझ बताएअनुसार, न्युयोर्क प्रहरी विभागले १६ अधिकारीको मद्दतमा महिलालाई तल झारेका हुन् ।

यी महिला आफैं एक आप्रवासी हुन् र केही वर्षअघि उनी कंगोबाट अमेरिका पुगेकी हुन् ।

ट्रम्पको नीतिको अमेरिकामा मात्र नभई संसारभरि विरोध भइरहेको छ ।

Post Comment