अमेरिकामा एक नेपाली महिलामाथि गोली प्रहार भएको छ । ओक्लाहामा राज्यको अटोका सहरमा उनीमाथि आक्रमण भएको हो ।
ग्यास स्टेसनमा काम गरिरहेका बेला सोमबार दिउँसो सवा १२ बजे रचना श्रेष्ठमाथि गोली प्रहार भएको स्थानीय प्रहरीले जनाएको छ । भुइँ पुछिरहेका बेला पछाडीबाट अन्धाधुन्ध गोली प्रहार भएको बताइएको छ ।
बेहोस भएपछि हेलिकप्टरमार्फत श्रेष्ठलाई टल्सा सहरको अस्पताल पुर्याइएको थियो । घाइते श्रेष्ठका श्रीमानका अनुसार शरीरबाट केही गोली निकालिसकिएको र केही अझै निकाल्न बाँकी छन् । रचना भने होसमा आइसकेकी छन् ।
गोली चलाएको थाहा पाएपछि अर्का ग्राहकले प्रहरीलाई खबर गरेका थिए । फरार अभियुक्तलाई प्रहरीले केही समयभित्रै पक्राउ गर्न सफल भएको बताइएको छ । रचना श्रीमान र छोराको साथमा बस्दै आएकी थिइन् ।
झण्डै एक महिनाअघि अमेरिकाको भर्जिनियाको हेरन्डन सहरमा नेपाली नागरिक रेशम बजगाईंमाथि गोली प्रहार भएको थियो ।