ट्रम्पलाई महाअभियोग लगाए जनताले विद्रोह गर्छन् :रुडी जुलियानी

ट्रम्पलाई महाअभियोग लगाए जनताले विद्रोह गर्छन् :रुडी जुलियानी
अमेरिका

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाअभियोग लगाएमा अमेरिकी जनताले विद्रोह गर्ने राष्ट्रपतिका वकिल रुडी जुलियानीले बताएका छन् ।

‘उनलाई राजनीतिक कारण देखाएर मात्र महाअभियोग लगाउन सकिन्छ र अमेरिकी जनताले त्यसका विरुद्ध विद्रोह गर्नेछन्,’ जुलियानीले बिहीवार बताए ।

ट्रम्पलाई अवश्यम्भावी महाअभियोग लगाइनेछ कि भनी सोधिएको प्रश्नमा जुलियानीले भने, ‘धेरै मुश्किल छ । बरू राष्ट्रपतिको पक्षमा वातावरण विकसित हुँदै गएको छ ।’

‘उनलाई महाअभियोग नलगाइने कुरा चाहिँ अवश्यम्भावी छ,’ जुलियानीले भने, ‘ट्रम्पलाई पूरै सफाइ दिइसकिएको छ । ती कोहेनलाई रुससँगको साँठगाँठको बारेमा केही थाहा छैन अनि ट्रम्पले न्यायमा अवरोध पु–याएको बारेमा पनि
केही थाहा छैन ।’

माइकल कोहेन ट्रम्पका निजी वकिल थिए तर अहिले उनी आफैं कानूनी दाउपेचमा फसेका छन् ।

मंगलवार कोहेनले म्यानह्याटन संघीय अदालतमा आठवटा फौजदारी मुद्दामा दोषी रहेको स्वीकार गरेका छन् जसमा करछली, बैंकलाई झुटो बयान दिएको र ट्रम्पका लागि काम गर्दा आर्थिक मापदण्ड उल्लंघन गरेको आरोप छ ।

अनि मंगलवार नै कोहेनले राष्ट्रपतिलाई पनि पोल्दै उनले सूचना सार्वजनिक हुनबाट रोकेको बताए । सूचना बाहिर आएको भए ट्रम्पलाई राष्ट्रपतीय निर्वाचनमा हानि पुग्थ्यो ।

जुलियानीले कोहेन महाझुटो भएको आरोप पनि लगाए ।

‘महाअभियोग एकदमै खराब हुन्छ । लगाउनुपर्ने कुनै कारण छैन । उनले रुसीहरूसँग साँठगाँठ गरेका छैनन् । उनले न्यायमा अवरोध तेर्स्याएका छैनन् । कोहेनले भनेका सबै कुरा अप्रमाणित भइसकेका छन्,’ उनले भने ।

Post Comment