अमेरिकी सिनेटर जोन म्याक्केनको निधन

अमेरिकी सिनेटर जोन म्याक्केनको निधन
अमेरिका

अमेरिकाको राष्ट्रपतीय उम्मेदवार रहिसकेका चर्चित राजनीतिज्ञ सिनेटर जोन म्याक्केनको मस्तिष्क क्यान्सरका कारण शनिबार निधन भएको छ । उनी ८१ वर्षका थियो । भियतनाममा अमेरिकी सेनाका तर्फबाट युद्ध लडेका म्याक्केन सैनिक जीवनबाट अवकाश लिएसँगै राजनीतिमा आएका थिए ।

अमेरिकी राजनीतिमा आक्रामक स्वभाव भएका रिपब्लीकन पार्टीका वरिष्ठ नेता म्याक्केन कतिपय नीतिहरुमा पार्टी धारणाभन्दा भिन्न विचार राख्ने गर्थे । उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक मानिन्थे । उनी अमेरिकाको एरिजोना राज्यबाट छ पटक सिनेटमा चुनिएका थिए । राष्ट्रपतिमा रिपब्लीकनका तर्फबाट उम्मेदवार भएका म्याक्केन पूर्व राष्ट्रपति बाराक ओबामासँग पराजित भएका थिए ।

ओबामासँग चुनावमा पराजित भएपछि पनि म्याक्केनले राजनीतिबाट अवकाश लिएनन् । उनी पुनः सिनेटमा निर्वाचित भए । अमेरिकी राजनीति र राष्ट्रपतिका नीतिहरुमा खुला छलफल र कडा बहसमा उत्रन रुचाउने उनको पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विभिन्न विषयमा तिब्र मतान्तर रहिआएको थियो ।

सैनिक परिवारका म्याक्केनले संसदको सैनिक सेवा समितिको अध्यक्षको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी अमेरिकी सैनिकको व्यापक उपस्थिति विश्वमा रहनुपर्दछ भन्ने धारणा राख्थे । उनी अमेरिकालाई ध्वस्त पार्न चाहने उग्रवादी इस्लामी बललाई परास्त गर्नुपर्नेमा दृढ विचार राख्थे ।

सन् २०१७ मा उहाँले गरेको एउटा नाटकीय मतदान सदैब सम्झना गर्ने गरिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गर्न चाहेको जीवन बीमा सम्बन्धी चर्चित विधेयक “एफोर्डेबल केयर एक्ट” मा म्याक्केनले लामो छलफलपछि विपक्षमा मतदान गरेका थिए । त्यही एक मतका कारण ट्रम्पको प्रस्ताव बिफल हुनुका साथै ओबामाले ल्याएको ऐनले निरन्तरता पाएको थियो ।

म्याक्केनको निधनप्रति राष्ट्रपति ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा लगायत अन्य विशिष्ट व्यक्तिहरुले दुःख व्यक्त गर्दै अमेरिकाले एकजना इमान्दार र असल व्यक्ति गुमाएको प्रतिक्रिया दिएका थिए ।

Post Comment