अमेरिकाको ट्रम्प प्रशासनले ल्याएको नयाँ नियमअनुसार प्रवासी नागरिकले ग्रीन कार्ड पाउनका लागि चिकित्सा सहायता, फूड स्टाम्प, आवास भाउचर र अन्य प्रकारका सरकारी सहायता र सुविधा त्याग्नुपर्ने भएको छ ।
संघीय कानूनले ग्रीन कार्ड पाउनका लागि आफूहरू बोझ नबन्ने र सरकारी सहायताको अनुचित लाभ नउठाउने शर्त राखेकोमा नयाँ नियममा शर्तहरूको लामो सूची छ ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले वर्तमान र अतीतमा एक सीमाभन्दा बढी विशेष सरकारी सुविधा पाएको व्यक्तिका हकमा ग्रीन कार्ड वा अस्थायी प्रवासको स्वकृतिमा नकारात्मक तथ्य मानिने बताएको छ । अमेरिकामा स्थायी
वा अस्थायी रूपमा आएर बस्न चाहने व्यक्तिले आफ्नो खर्च उठाउनुपर्ने र सरकारी सुविधामा निर्भर नरहने प्रस्तावमा स्पष्ट पारिएको डिपार्टमेन्टले बतायो ।
डिपार्टमेन्टको वेबसाइटमा ४४७ पृष्ठको प्रस्ताव प्रकाशित गरिएको छ । आगामी समयमा त्यसलाई संघीय रजिस्टरमा राखिनेछ र लागू हुनुभन्दा ६० दिनसम्म यसमाथि मानिसको राय लिइनेछ ।
राष्ट्रिय आप्रवासी विधि केन्द्रकी कार्यकारी निर्देशक म्यारिलेना हिनक्यापीले यो प्रस्ताव देशका अनेक परिवार र समुदायको भलाइमाथिको आक्रमण भएको प्रतिक्रिया दिइन् ।