अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँग दोस्रो शिखर बैठक ‘धेरै टाढा नरहेको’ आशा व्यक्त गरेका छन्।
न्यूयोर्कमा दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनसँगै उभिएका ट्रम्पले ‘धेरै प्रगति’ भएको बताए।
उनले भने, “सम्बन्ध एकदम राम्रो छ र केही दृष्टिकोणले असाधारण।”
एक वर्षअघि मात्रै अमेरिका र उत्तर कोरिया पारमाणविक मुठभेडबारे सार्वजनिक रूपमा बोल्ने गर्थे। तर गत जुनमा ट्रम्ले किमसँग पहिलो पटक ऐतिहासिक शिखर वार्ता गरे।
त्यसअघि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बोल्दै ट्रम्पले विदेशमन्त्री माइक पोम्पेओले अर्को शिखर बैठकको व्यवस्थापन ‘छिट्टै गर्ने’ बताएका थिए।
शिखर बैठक कहाँ हुने भन्नेबारे चाहिँ निर्णय भइनसकेको उनले बताए।