अमेरिकाको न्यूयोर्कमा एक लिमोजिन दुर्घटनाग्रस्त भएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा २० को मृत्यु भएको छ । लिमोजिन एउटा लामो गाडी हो जसमा एकसाथ थुप्रै मानिसहरु सवार हुन सक्छन् ।
दुर्घटना शनिबार दिउँसो शोहारी शहरमा भयो । दुर्घटनाग्रस्त लिमोजिन मानिसहरुलाई लिएर एउटा पार्टीमा गइरहेको थियो । गाडीमा सवार सबैको मृत्यु भएको छ भने दुई पैदलयात्रुलाई समेत गाडीले किचेको छ ।
प्रत्यक्षदर्शीका अनुसार एसयूवी–स्टाइलको एक लिमोजिन डिभाइडरसँग ठोक्कियो र अर्को कारसँग पनि ठोक्कियो । त्यसपछि गाडी एउटा पसलको पार्किङमा उभिएका मानिसतर्फ अघि बढ्यो ।
यद्यपी, अहिलेसम्म दुर्घटनाको सही कारण पत्ता लाग्न सकेको छैन ।
मृतकको नाम सार्वजनिक गरिएको छैन तर न्यूयोर्क टाइम्सको खबर अनुसार दुर्घटनामा चार दिदी बहिनी र कम्तीमा दुई नवविवाहित जोडीको मृत्यु भएको छ ।
दुर्घटनामा लिमोजिनका ड्राइभरको पनि मृत्यु भएको छ । घटनास्थलमा भएका एक स्थानीय रिपोर्टरले केही तस्बिर र भिडियो ट्वीट गरेका छन् । तस्बिरमा देखिए अनुसार दुर्घटनास्थल नजिकै एउटा स्टोर र क्याफे थियो ।
प्रत्यक्षदर्शीका अनुसार जब गाडी स्टोर नजिकै पुग्यो तब धेरै मानिसहरु स्टोरबाट निस्किरहेका थिए । दुर्घटनामा ती मानिसहरुलाई पनि चोट लागेको छ ।
घटनास्थल नजिकै बस्ने ब्रिडेले भने, ‘मैले एउटा ठूलो आवाज सुनें । त्यतिबेला स्टोर र क्याफेको पार्किङमा थुप्रै मानिसहरु उभिएका थिए । त्यसपछि अचानक मानिसहरुको चिच्याहट सुनिन थाल्यो ।’
न्यूयोर्कको पुलिस अनुसार अनुसन्धान अहिल पनि सुरुवाती चरणमा नै छ । अनुसन्धानमा एक आइडेन्टिफिकेशन र ड्रोन टिम समेत विभिन्न अतिरिक्त पुलिस युटिट्स पनि लगाइएको ।
नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड पनि घटनास्थलमा एउटा समूह पठाउने तयारीमा छ । बोर्डले ट्वीट गरेर यसबारे जानकारी दिए ।
बोर्डका चेयरम्यान रोबर्ट समवाल्टले एक प्रेसवार्तामा भने, ‘यो एउटा ठूलो दुर्घटना हो जसमा हामीले विभिन्न जीवन गुमाएका छौं । सन् २००९ पछिको यो अहिलेसम्मको सबैभन्दा भयानक सडक दुर्घटना हो ।’