न्यूयोर्क शहरका मेयरले सीएनएन समाचार संस्था तथा बराक ओबामा एवम् हिलरी क्लिन्टन जस्ता वरिष्ठ डेमोक्र्याट नेताहरूमाथि नियोजित आक्रमणका प्रयासलाई आतंकवादी कार्य भनेका छन्।
शंकास्पद विस्फोटक पदार्थका पोका न्यूयोर्क, वाशिङ्गटन डिसी तथा फ्लोरिडाका स्थानहरूमा पठाइएका थिए।
न्यूयोर्कका मेयर बील डे ब्लाजियोले पत्रकारहरूसँग कुरा गर्दै ती घटनालाई आतंकित पार्ने प्रयास भने।
हिँसात्मक कार्यका माध्यमबाट स्वतन्त्र प्रेस तथा देशका नेताहरूलाई तर्साउने प्रयास भएको उनले बताए।
संघीय जाँच ब्युरो एफबीआइ ले यी घटनाको अनुसन्धानलाई उच्चतम प्राथमिकता दिइएको बताएको छ।
उसले हालसम्म त्यस्ता विस्फोटक पदार्थका पाँचवटा पोका पत्ता लगाइसकेको छ।
जसमध्ये एउटा चाहिँ पाइप बम भएको पुष्टि भएको छ।
त्यो उदारवादी परोपकारी अर्बपति जर्ज सोरोसको घरमा दुई दिन अघि भेटिएको थियो।
बुधवार बिहान सीएनएनको न्यूयोर्क कार्यालयको चिठीपत्र राखिने कोठामा बम पठाइएको भेटिएपछि सुरक्षाको निम्ति कर्मचारीहरूलाई बाहिर निकालिएको थियो।
-बिबिसि