तपाईँहरुमध्ये धेरैले एक वर्षअघि अमेरिकामा एक नेपालीलाई यौन दुर्व्यवहारको केस लागेको समाचार पढ्नुभएको होला। अमेरिकाको ओरेगन राज्यमा तेक्वान्दो प्रशिक्षण दिइरहेका शुद्धोदन रन्जित मेरा मामा हुन्। प्रशिक्षण लिने तीन छात्रालाई अनुचित छोएको आरोप लागेपछि यौन दुर्व्यवहारको केसमा ५१ वर्षीय रन्जितविरुद्ध वासिङटन काउन्टीमा मुद्दा चलेको थियो। यो समाचार नेपालका अधिकांश मिडियाले लेखेका थिए। गएको शुक्रबार अदालतले उनलाई सबै आरोपमा सफाइ दियो। तर कुनै पनि मिडियाले यसबारे समाचार लेखेको देखिनँ। आरोप लगाउँदा समाचार लेख्ने, सफाइ पाउँदा लेख्नु पर्दैन?
के हो केस?
रन्जितमाथि १५ वटा यौन दुर्व्यवहारको चार्ज लागेको थियो। त्यसमध्ये १२ वटा फर्स्ट डिग्रीका थिए। यसमा दोषी ठहरिए उनी कम्तिमा २५ वर्ष जेल बस्नु पर्ने हुन्थ्यो।
सन् २०१७ मा उनी पक्राउ परे पनि घटना भने सन् २०१२ देखि सन् २०१५ को बीचमा भएको भनिएको थियो। पीडित भनिएका छात्राहरु १४ वर्ष मुनिका थिए।
सुरुमा उनको लागि धरौटी ७ लाख ५० हजार अमेरिकी डलर तोकिएको थियो। रन्जितका वकिलले धरौटी रकम ५० हजार वा १ लाख डलर गर्न अनुरोध गरेका थिए। रन्जितले सबै आरोपलाई अस्वीकार गरेको, तेक्वान्दो कम्युनिटीका उनी सम्माननीय सदस्य रहेको र नजिकका साथी र परिवारले पनि उनको राम्रो चरित्र रहेको बताउने गरेको तर्क दिएपछि न्यायाधीशले धरौटी रकम घटाएर २ लाख ५० हजार डलर बनाएका थिए।
वासिङटन काउन्टीको जिल्ला अटोर्नीको कार्यालयले धरौटी घटाउन नहुने भनेका थिए। पीडितका परिवारले पनि उनलाई जेलमै राख्नु पर्ने तर्क गरेका थिए।
तर न्यायाधीशले धरौटी घटाउने निर्णय गरेपछि परिवारले धरौटी बुझाएपछि रन्जित थुना मुक्त भएका थिए। यद्यपि उनले अदालतले राखेका शर्तहरु पूरा गर्नुपरेको थियो। शर्त अनुसार उनले पीडित, उनीहरुको परिवार र साक्षीहरुसित सम्पर्क गर्न नपाउने, नाबालगहरुसित सम्पर्क राख्न नपाउने, अल्कोहल, ड्रग्स र हतियार राख्न नपाउने, पासपोर्ट पनि बुझाउनु पर्ने थियो।
लगभग एक वर्षपछि अदालतले उनलाई सफाइ दिएको हो। आरोप लाग्दा समाचार बनाउनेहरुले सफाइ पाउँदा पनि समाचार लेखिदिए पीडितले न्याय पाउँथे नि।