अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा पस्न खोजिरहेका शरणार्थीहरूप्रति कडा दृष्टिकोण कायम राखेका छन् । अमेरिकातर्फ गइरहेका शरणार्थीको लश्करले सैनिकहरूलाई ढुंगा हानेमा सेनाले गोली चलाउन सक्ने ट्रम्पले बताएका छन् ।
मध्यअमेरिकी देशहरू एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालाबाट लगभग सात हजारजनाको लश्कर मेक्सिको हुँदै अमेरिकातिर गइरहेको छ ।
आफ्ना बालबच्चा लिएर आएका यी मानिस अमेरिकामा शरण चाहन्छन् । ट्रम्पले यिनीहरूलाई रोक्नका लागि सेनाका साँच हजार जवान तैनाथ गरेका छन् ।
पत्रकारहरूसँग यसबारेमा कुरा गर्दै ट्रम्पले त्यसै त शरणार्थीहरूमाथि गोल चलाउन नहुने तर उनीहरूले मेक्सिकोमा जस्तै ढुंगा हाने भने त्यसलाई गोली हानेजत्तिकै मान्दै प्रतिरक्षाका लागि गोली चलाइने बताए ।
अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईंको अनुहारमा ढुंगा लागेमा गोली लागेजति नै क्षति पुग्छ । त्यसैले उनीहरूले ढुंगा हानेमा त्यसलाई गोली हानेको सम्झेर जवाफ फर्काउन आदेश दिइएको छ ।’
मध्यावधि निर्वाचनअघि शरणार्थीहरूको विषयलाई फेरि उठाउँदै ट्रम्पले दक्षिण अमेरिकी देशका प्रवासीलाई रोक्नका लागि दक्षिणी सीमामा १५ हजार सैनिक पठाउन सकिने बताए ।
आप्रवासको मुद्दामा डर सिर्जना गरेको आरोपलाई नकार्दै ट्रम्पले दक्षिण अमेरिकाबाट आएका मानिसको लश्करलाई अमेरिका पस्न नदिने संकल्प गरेको बताए ।